पाकिस्तान-तालीबान वार्ता आन्तरिक मामिला: अमेरिका

  • 3 नोभेम्बर 2013
पाकिस्तानी प्रधानमन्त्री तथा अमेरिकि राष्ट्रपति
Image caption ड्रोन हमलामार्फत मेहसुदको हत्या गरिएको भन्दै पाकिस्तानले अमेरिकाको भर्त्सर्ना गरेको छ

पाकिस्तानी तालीबानका नेतालाई मारेर, उक्त समूहसंग थाल्न लागेको शान्तिवार्ता, अमेरिकाले जानाजान भाँडिदिएको आरोप पाकिस्तानले लगाएपछि, सो वार्ता पाकिस्तानको आन्तरीक मामिला भएको अमेरिकाले प्रतिक्रिया दिएको छ।

अमेरिकि विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, अतिवादी हिंसाको अन्त्य गर्न दुवै देशको स्वार्थ मिलेको छ।

तर उसले मेहसुद मारिएकै हो वा होइन भन्ने पुष्टि गर्न नसकिएको जनाएको छ।

तीखो प्रतिक्रिया

घटनापछि क्रुद्ध देखिएको पाकिस्तानी सरकारले इस्लामावादस्थित अमेरिकि राजदूतलाई यस घटनाबारे प्रष्टिकरण दिन बोलाएको छ।

पाकिस्तानका आन्तरीक मामिला मन्त्री चौधरी नीसार अलि खानले यो कुनै एक व्यक्तिको हत्यामात्र नभई समग्र शान्ति प्रयासको हत्या भएको जनाएका छन्।

मेहसुदसंग भेटघाट गर्न पाकिस्तानी सरकारी प्रतिनिधिमण्डल उत्तरी वजीरिस्तानतर्फ लाग्नुभन्दा एक दिन अगाडि उनको हत्या भएपछि इस्लामावादले तीखो प्रतिक्रिया दिएको हो।

“या त कुनै कुरा छ जुन हामीले बुझेका छैनौं, वा अझ भनौं या त हाम्रो ज्ञानमा कुनै कमी छ, या त यस क्षेत्रमा के भइरहेको छ भन्नेबारे अमेरिकाले सिक्न धेरै बाँकी छ,” मन्त्री नीसार अलि खानको भनाई।

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार मेहसुदको शनिबारै अज्ञात स्थलमा अन्त्येष्टि गरिएको छ।

अपुष्ट समाचारहरुका अनुसार उनको स्थानमा पाकिस्तानी तालीबानले खान सइद सजनालाई नयाँ नेता चुनेको छ।

मेहसुद मारिएपछि पाकिस्तानभर सुरक्षा सतर्कता बढाइएको छ।