चुनावी माहोल बनाउन सरकारको आग्रह

  • 4 नोभेम्बर 2013
Image caption मतदानका लागि झन्डै दुई हप्ता बाँकी रहँदा निर्वाचन आयोगले आफ‍्नो तयारी अन्तिम चरणमा पुराएको छ।

चुनाव पक्षधर दलहरुलै एकअर्काको निर्वाचन अभियान अवरोध गरिरहेको खबरकाबीच मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले एकआपसमा नलडी चुनावको माहोल बनाउन दलहरुलाई आग्रह गरेका छन्।

चुनावी पक्षधर दलहरुबीच कै झडपका कारण निर्वाचन बिथोलिनसक्ने चिन्तामाझ मन्त्रिपरिषदका अध्यक्षको त्यस्तो भनाइ आएको हो।

मुख्य चार सहित अन्य साना दलहरुलाई रेग्मीले सोमबार आफ‍्नो सरकारी निवासमा बोलाएर चुनावलाई राष्ट्रिय अभियानको रुपमा सफल बनाउन सुझाव दिए।

सुझाव

बैठकमा प्रमुख दलका नेताहरुले नै आफ्ना उम्मेद्वारहरुलाई अर्को पार्टीले चुनाव प्रचारमा अवरोध पु-याएको भन्दै मन्त्रिपरिषद् अध्यक्षसमक्ष गुनासो गरेका थिए।

रेग्मीले चुनावलाई शान्तिपूर्ण बनाउन सरकार दृढ रहेको बताउँदै दलहरुलाई चुनावको माहोल बनाउन सुझाव दिएका थिए।

बैठकमा सहभागी संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भने,"मन्त्रिपरिषद् अध्यक्षले दलहरु बीच नै आपसमा झडप भएका ५५ घटना देखियो, यस्तो घटना नघटाएर तपाईँरुले चुनावी माहोल तयार गर्नुप-यो भन्नुभयो। "

दुविधा

बैठकमा तीन ठूला दलका वरिष्ठ नेताहरु प्रचण्ड, रामचन्द्र पौडेल, विद्यादेवी भण्डारीका साथै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी पार्टीका नेताको समेत सहभागिता थियो।

चुनाव आउन १५ दिन बाँकी रहँदा बसेको बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले चुनावका दिनसम्म अझै हिंसा बढाउन सक्ने भन्दै समाधान खोजेर मात्रै चुनावमा जान दिएको भनिएको सुझावबारे नेताहरुले रेग्मीलाई सोधेका थिए।

अध्यक्ष रेग्मीले त्यस्ता समाचारहरु साँचो नभएको प्रतिकृया दिएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।

पौडेलले भने, "राष्ट्रिय सुरक्षा परिषद्बारेको समाचार हुँदै नभएको विषय हो, सरकार जसरी पनि चुनाव गराउन प्रतिबद्ध छ भन्नुभयो।"

सरकारले निर्वाचनबारे नेताहरुलाई आश्वस्त तुल्याउन खोजे पनि सर्वसाधारणका माझ सुरक्षाव्यवस्थामा ढुक्क हुन सकिएला या नसकिएला भन्ने संशय कायम रहेको देखिन्छ।