मोर्सी विरुद्धको सुनुवाइ शुरु

  • 4 नोभेम्बर 2013
मोर्सी समर्थकहरु
Image caption भूतपूर्व राष्ट्रपतिका समर्थक तथा विरोधीहरुबीच भीडन्त भएको थियो

प्रदर्शनकारीहरुको हत्या गर्न उक्साएको आरोप लगाइएका इजिप्टमा सत्ताच्युत गरिएका राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको मुद्दाको सुनुवाइ कायरोमा शुरु भएको छ।

बचाउ पक्षलाई अभियोजन पक्षका दस्तावेजहरुको अध्ययन गर्न समय दिनकालागि अब अर्को सुनुवाइ आउँदो जनवरी आठ तारिखमा मात्रै हुनेछ।

कायरोमा मोर्सी समर्थक तथा उनका विपक्षीहरु बीच भीडन्त भएपछि सुरक्षा दलहरुले अश्रुग्याँस प्रहार गरेका थिए।

स्थगित

प्रतिवादीहरुले गैरकानुनी, गैरकानुनी भन्दै कक्ष भित्रै नारा लगाउन शुरु गरेपछि कारवाही केहीबेरका स्थगित गरिएको थियो।

भूतपूर्व राष्ट्रपति मोर्सीले सुट लगाएका थिए।

उनले अदालतले भने अनुसार बन्दीले लगाउने कपडा लगाउन अस्वीकार गरे।

उनले अदालतलाई आफु अझै इजिप्टको वैधानिक नेता भएको बताए ।

मोर्सी सँगसँगै मुस्लिम ब्रदरहुडका चौधजना सदस्यहरु विरुद्ध पनि मुद्दा लगाईएको छ।

अदालतबाहिर र कायरोका विभिन्न स्थानमा मोर्सी समर्थकहरुले प्रदर्शनहरु गरेका थिए।

उनीहरुले सेनासमर्थित सरकारले लगाएको मुद्दा झुठ्ठा भएको बताएका छन्। मोर्सीका एकजना वकील मोहम्मद टसनले भने, “डा मोहम्मद मोर्सी र भूतपूर्व राष्ट्रपति होस्नी मुबारकबीचको मुद्दाको फरक के हो भने विरोध प्रदर्शनहरु पछि मुबारकले सत्ता छाडेका थिए तर मोहम्मद मोर्सी अहिले पनि इजिप्टको वैधानिक नेता हुन्। कानुनी तथा संवैधानिक रुपमा अहिले पनि उनी राष्ट्रपति हुन्।“

सार्वजनिक

गत जुलाई महिनामा सेनाद्वारा सत्ताच्युत गरिएपछि मोर्सी सार्वजनिक रुपमा देखिएको यो पहिलो पटक हो।

प्रदर्शनकारीहरुले सेना प्रमुख जनरल अब्देल फतह अल सिसि विरुद्ध नारा लगाउनुका साथै सरकारी टेलिभिजनका संवाददाताहरुमाथि ढुँगा प्रहार गरेका थिए।

एउटा प्रजातान्त्रिक पद्धतिबाट भएको निर्वाचनमा विजयी भएता पनि आफ्नो तेह्र महिनालामो शासनकालमा मोर्सीको राज्यका अन्य अङगहरुसँग तीव्र मनमुटाव भएको थियो।

उनलाई सत्ताच्युत गरिएपछि उनको पुनर्बहालीको माग गर्दै राजधानी कायरोमा डेरा जमाएका उनका समर्थकहरुलाई हटाउन सेनाले बल प्रयोग गर्दा सैयौंको ज्यान गएको थियो।

अन्तरिम सरकारले मुस्लिम ब्रदरहुड सँगठनमाथि प्रतिबन्ध लगाइदिएको छ र उसका दर्जनौं वरिष्ठ नेताहरुलाई पक्राउ गरेको छ।

मोर्सीका समर्थकहरुले उनलाई सत्ता विद्रोहमार्फत हटाइएको आरोप लगाउँछन्।

मानवअधिकारवादी समूहहरुले इजिप्टका सुरक्षा निकायहरुले विना कुनै जवाफदेही काम गरिरहेको आरोप लगाएका छन्।

कायरोस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, मोर्सी विरुद्धको सुनुवाइ इजिप्टका दुई शक्तिशाली समूहहरुबीच शक्ति परीक्षण हुने पनि ठानिएको छ।