फूलखेतीमा आत्मनिर्भरताको अवसर

  • 5 नोभेम्बर 2013
Image caption फूलको खेती र विक्रि वितरणमा झन्डै ४० हजार परिवार संलग्न रहेको सरकारको भनाइ छ

तिहारमा सयपत्री र मखमली फ‍ूलको माग ह्वात्तै बढेको बेला, फूलको व्यवसयिक खेती विस्तार गरेर देशलाई आत्मनिर्भर बनाउन सकिने सुझाव व्यवसायीहरुले दिएका छन्।

नेपालमा वर्षेनी करिब एक अर्ब रुपैँया भन्दा बढीको कारोबार पुष्प व्यवसायमा हुने बताइन्छ।

तर व्यापारीहरु अझै पनि आन्तरिक उत्पादनले फूलको माग धान्न नसकिएको बताउँछन्।

व्यापार

तिहार शुरु भएदेखि नै घर सिङ्गार्न देखि लिएर पूजा सामग्री तथा मालाको रुपमा पनि फूल चाहिने हुनाले बजारमा फूलको माग बढेको व्यवसायीहरुको भनाइ छ।

तिहारलाई लक्षित गरी यसपटक फ‍ूलको उत्पादन बढाएको किसानहरुको भनाइ छ।

अरू बेला सामान्य खेती किसानी गर्ने भक्तपुर गुन्डुकी पवित्रा बस्नेत १५ वर्षदेखि तिहारलाई लक्षित गरी फूलको खेती गर्दै आएको बताउँछिन्।

उनी भन्छिन्,“एउटा मालाको बिक्रिबाट साठी देखि सय रुपैँयासम्म आम्दानी हुन्छ, मखमली र सयपत्री फूलबाट एक बालीमा साठी हजार रुपैँयासम्म आम्दानी हुने गरेको छ।”

बस्नेत जस्ता चाडपर्वलाई मात्रै लक्षित गरी फूल उत्पादन गर्ने र पूर्ण रुपमा व्यावसायिक फूल खेती र बिक्रीवितरणमा देशभर झण्डै ४० हजार परिवारले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएको कृषि विभागको भनाइ छ।

सम्भावना

पुष्पजन्य वस्तुको माग वर्षेनी १० देखि १५ प्रतिशतको दरले बढ्दै गएको र गत आर्थिक वर्षमा मात्रै नेपालमा एक अर्ब पाँच करोड रुपियाँभन्दा बढीको कारोबार भएको सरकारी आंकडामा देखाइएको छ।

तर अझै पनि नेपाल पुष्पजन्य वस्तुमा आत्मनिर्भर बन्न नसकेको फूल उत्पादकहरुको छाता संगठन फ्लोरीकल्चर एशोसिएसन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताए।

“अझै पनि झन्डै २० प्रतिशत फूल हामी भारतबाट आयात गर्ने गरेका छौं। आन्तरिक उत्पादनले देशभित्रकै माग धान्न नसेकेको अवस्थामा पनि हामी केही फूलहरु विदेश निर्यात गरिरहेका छौं।”

कृषि विभागका अनुसार गएको वर्ष झण्डै तीन करोडको पुष्पजन्य वस्तु विदेश निर्यात गरिएको र झण्डै साढे तीन करोडको आयात गरिएको देखिन्छ।

फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएको र नेपालले विदेश निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने भएकोले सरकारले गाउँ गाउँमा किसानहरुलाई प्राविधिक सीप सिकाउनु पर्ने व्यवसायीहरुको धारणा छ।