सिरिया शान्ति सम्मेलनको मिति अनिश्चित

  • 6 नोभेम्बर 2013
सिरिया शान्ति सम्मेलन तयारी बैठक
Image caption सिरियाका बारे शान्ति सम्मेलनको मिति तोक्न कुटनीतिज्ञहरुले दिनभरी नै गहन वार्ताहरु गरेका थिए

सिरियाका सम्बन्धमा गरिने भनी लामो समय देखि चर्चा भइरहेको शान्ति सम्मेलनका लागि मिति तोक्ने अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास फलदायी हुन सकेको छैन।

स्वीट्जरल्याण्डको जिनीभामा अमेरिका, रुस र राष्ट्रसंघीय सुरक्षा परिषदका अन्य सदस्य राष्ट्रहरुसंगको दिनभरको गहन वार्तापछि सिरियाका लागि अन्तर्राष्ट्रिय दूत लख्दर ब्राहीमीले आफूले मंगलबार कुनै मिति घोषणा गर्न सकिने अपेक्षा गरेको तर त्यो साकार हुन नसकेको बताएका छन्।

उनले भने, “हामीले आज बिहान महत्वपूर्ण बैठकहरु गर्यौं र तिनमा जिनीभा सम्मेलनको तयारीका सम्बन्धमा उठेका सबै मुद्दामा फेरि छलफल गर्यौं।

"तर हामी कुनै मिति घोषणा गर्ने अवस्थामा अझै पुगेका छैनौं। हामी यो वर्षको अन्त्यसम्ममा त्यस्तो सम्मेलन आयोजना गर्न सकिनेमा आशावादी भने छौं।“ अवरोध

सम्मेलनमा सहभागी हुने या नहुने भन्ने बारे सिरियाली विपक्षीहरु माझ विद्यमान मतभेद, सहमतिको सामु रहेको एउटा अवरोध भएको उनले बताए।

त्यस्तो शान्ति वार्ता सकेसम्म यही महिनामा गर्ने प्रयास भइरहेको थियो।

जिनीभास्थित बीबीसी सम्बाददाता इमोजेन फुक्स भन्छिन् लख्दर ब्राहिमीले निराश भैहाल्नुपर्ने स्थिति नआएको सन्देश दिने प्रयास गरेका छन्।

तर वास्तविकता के हो भने दिन भर चलेको गहन कूटनीतिक प्रयासपछि पनि औपचारिक शान्तिवार्ताका लागि कुनै मिति निर्धारण हुन सकेन।

जिनीभा वार्तामा अमेरिका र रुसका साथै राष्ट्रसंघीय सुरक्षा परिषदका अन्य स्थायी सदस्यहरु तथा सिरियाका छिमेकीहरु-लेबानोन, जोर्डन, इराक र टर्की पनि सहभागी थिए।

मानवीय संकट

कुराकानीको अन्त्यतिर, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र राष्ट्रसंघीय सहायता एजेन्सीहरुले सिरियाद्वन्द्वको मानविय संकटको अवस्थाका बारे जानकारी गराएका थिए।

त्यहां देशको जनसंख्याको झण्डै चालीस प्रतिशत, नब्बेलाख मानिसलाई सहायता आवश्यक रहेको उनीहरुको भनाइ थियो।

तर संकटको त्यस्तो तथ्यले समेत वार्तामा मतभिन्नताहरुलाई कम गर्न सघाउ पुर्याउन सकेको देखिएन।

शान्ति वार्तालाई सफल तुल्याउन आवश्यक पर्ने व्यक्तिहरु भनेका सिरियाली सरकार र विपक्षीका प्रतिनिधिहरु हुन् र ती दुवै पक्षनै त्यस्तो वार्ताको मिति तय गर्न जीनिभामा बसेको बैठकमा उपस्थित थिएनन्।

सिरियाका राष्ट्रपति असद भावी अन्तरिम सरकारका बारे कुरा गर्न तयार देखिंदैनन् र विपक्षीहरु आफ्ना साझा नेताका विषयमा एकमत छैनन्।

संगसंगै, अमेरिका र रुसबीच पनि वार्तामा सिरियाको एक प्रमुख छिमेकी इरानको भूमिका हुनु पर्छ कि पर्दैन भन्नेमा विवाद कायम छ।

यसैबीच, सिरियाली राजधानी दमस्कसमा बीबीसीसंग कुरा गर्दै एकजना सिरियाली राष्ट्रपतीय सल्लाहकारले, वार्तापछि राष्ट्रपति असदले राजीनामा दिने प्रत्याभूति हुनुपर्ने विपक्षीहरुको माग स्वीकार गर्न नसकिने बताएकी छिन्।

केही विपक्षी नेताहरु राजनीतिक संक्रमणको कुनै चरणमा राष्ट्रपति असदले राजीनामा दिनुपर्ने बताउंछन् भने कोही चाहिं उनी वार्ता अघि नै हट्नु पर्छ भन्दैछन्।