'आम हडतालमा पुनर्विचार हुन सक्ने'

  • 7 नोभेम्बर 2013
Image caption सरकारले जनताको जीउ धनको सुरक्षाको लागि तत्काल कदम चाल्ने जनाएको छ।

चुनावको विपक्षमा रहेको नेकपा-माओवादी नेतृत्वको मोर्चाले उसको पूर्व घोषित आम हडतालमाथि पुनर्विचार हुनसक्ने संकेत दिएको छ।

माओवादी उपाध्यक्ष सी पी गजुरेलले दश दिने आम हडताल लामो भयो भन्ने सुझाव विद्यालय सन्चालकहरु, व्यवसायी लगायत अन्य समूहबाट आएको बताएका छन्।

माओवादीको हडतालको विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायले कडा विज्ञप्ती जारी गरेको भोलिपल्ट माओवादीको उक्त भनाइ आएको छ।

मतदान गर्नु जस्तै चुनाव बहिष्कार गर्नु पनि नागरिकको राजनीतिक अधिकार हो भन्दै आएको नेकपा-माओवादीले अन्तर्राष्ट्रिय समुदायका तर्फबाट चुनावको पक्षमा मात्र विज्ञप्ती जारी हुनुले, उसकै शब्दमा, नेपालको आन्तरिक मामिलामा वैदैशिक हस्तक्षेपको पुष्टि भएको बताएको छ।

संकेत

आफ्ना पूर्व निर्धारित कार्यक्रम यथावत रहेको विज्ञप्ती माओवादीले बिहीबार जारी गरेपनि दश दिने आम हडतालबाट चाहिँ पछि हट्ने संकेत माओवादी उपाध्यक्ष सीपी गजुरेलले दिए।

गजुरेलले भने, “विभिन्न किसिमका सुझाव आएका छन्। विद्यालय, व्यवसायीले र शहरिया अरु तप्काका जनताबाट यो लामो भयो भन्ने सुझाव आइरहेको छ।”

माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चामा शुरुदेखि दश दिने आम हडतालबारे मतभेद रहेको बताइन्छ।

मोर्चाभित्र पुनर्विचारबारे कुराकानी भइरहेको मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले बताए।

थापाले भने,“ पहिले पनि दश दिन बढी हुन्छ जनताले विरोध गर्लान भन्ने कुरा उठेको थियो, तर सहमति गरियो । अहिले पनि २४ गतेसम्मको गतिविधि हेरेर पुनर्विचार गर्न सकिन्छ भन्ने लाइनमा कुराकानी चलिरहेको छ।”

चुनावको सक्रिय बहिष्कार गर्ने रणनीति अख्तियार गर्दै आएको माओवादी सहितको मोर्चाले मत हाल्ने दिन सहित दश दिने आम हडतालको घोषणा केही समय अघि गरेको थियो।

रणनीति

बन्दको पहिलो दिनको प्रभावकारिता हेरेर नयाँ रणनीति तय गरिने माओवादी उपाध्यक्ष गजुरेलले बताए।

उनले भने, “अहिलेसम्म हाम्रो कार्यक्रम यथावत छ बन्दको पहिलो दिनको स्थिति हेरेर हामी नयाँ रणनीति बनाउने विचारमा छौं।”

यसअघि विरोधका कार्यक्रम अन्तर्गत नेकपा माओवादीले उम्मेदवारी फिर्ता लिन उम्मेदवारहरुलाई चिठी बुझाएको थियो।

त्यस्तै उम्मेदवारलाई उसको क्षेत्रमा प्रवेश गर्न नदिने, शीर्ष नेताहरु पुग्ने ठाउँमा बन्द आयोजना गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो।

आशंका

तर ती कार्यक्रम प्रभावकारी हुन नसकेपछि दश दिने आम हडताल प्रभावकारी हुनेमा धेरैले आशंका व्यक्त गर्दै आएका छन्।

बन्द फिर्ता लिन उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग बाणिज्य महासँघले सार्वजनिक अनुरोध गरिसकेको छ।

बन्दबारे सरकारले बिहीबार एउटा विज्ञप्ती जारी गर्दै जनताको जीउ धनको सुरक्षाको लागि सरकारले तत्काल कदम चाल्ने र कसैलाई हानी भए क्षतिपूर्ति दिने जनाएको छ।