'मतदाता परिचयपत्र विना पनि मतदान'

  • 8 नोभेम्बर 2013
Image caption निर्वाचन आयोगले मतपत्र छपाई अन्तिम चरणमा पुगेको जनाएको छ

मतदाता परिचयपत्र छापेर वितरणको तयारी गरेपनि मतदानका लागि त्यो अनिवार्य नरहेको निर्वाचन आयोगले बताएको छ।

निर्वाचन आयोगले मतदाता परिचयपत्र छपाइ अन्तिम चरणमा पुगेको जनाएको छ।

मतदान अघि रंगीन फोटो सहितको मतदाता परिचयपत्र मतदाताको हात हातमा पुर्‍याउने भन्दै आएको निर्वाचन आयोगले कथंकदाचित परिचयपत्र पाउन नसक्नेलाई पनि वैकल्पिक व्यवस्था गर्ने बताएको छ।

ढाँचा

निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार मतदाता परिचयपत्र अनिवार्य छैन र अहिलेसम्म परिचयपत्र वितरण कसरी गर्ने भन्ने ढाँचा पनि तय भइसकेको छैन।

गुरुङले भने, “नगरपालिकाहरुमा, वडामा र गाउँ विकास समितिहरुमा निर्वाचन आयोगकै कार्यालय मार्फत गर्ने भन्ने सोचेका छौं। भोलि निर्णय हुन्छ।”

उनका अनुसार परिचयपत्र सबै मतदाताको हातमा नपुग्न सक्ला भन्ने आंकलन रहेकाले त्यसको वैकल्पिक व्यवस्थाबारे पनि आयोगले सोचिरहेको छ।

वैकल्पिक व्यवस्था

खासगरी वडा र गाउँ विकास समितिमा परिचयपत्र लिन सबै मतदाता नजान सक्ने, चुनाव विरोधीहरु या फर्जी मतदान गर्न चाहनेहरुले मतदाता परिचयपत्र खोस्न सक्ने लगायतका कारणले गर्दा पनि वैकल्पिक व्यवस्था गर्न लागिएको बताइन्छ।

फोटो सहितको मतदाता नामावलीमा रहेका झण्डै एक करोड २१ लाख ५० हजार मतदाताको परिचयपत्र आयोगले आफ्नै कार्यालय परिसरमा रहेको छापाखानामा छाप्ने निर्णय ढिलो गरी गरेको थियो।

छपाइ अन्तिम चरणमा रहेको भनिएको परिचयपत्र सुगममा सडकबाट र दुर्गममा हेलिकप्टर प्रयोग गरेर पुर्‍याउने व्यवस्था गरिने आयोगले जनाएको छ।

धेरै कुरा अघिल्लो संविधानसभा निर्वाचनको हुवहु भएपनि फोटो सहितको मतदाता परिचयपत्रको नयाँ अवधारणा निर्वाचन आयोगले यसपटक कार्यान्वयन गर्न खोजेको छ।

त्यसले फर्जी मतदान धेरै हदसम्म नियन्त्रण हुने आयोगको आंकलन छ।

तर मतदाता परिचयपत्र भएपनि हुने, नभए पनि हुने उसको निष्कर्षले गर्दा यसपटक परिचयपत्रको प्रयोग औपचारिकतामा सीमित हुनसक्ने देखिएको छ।