कारवाही अघि बढिसकेको छ: उप्रेती

  • 9 नोभेम्बर 2013
Image caption आयोग काठमाण्डौंमामात्रै सीमित भएको ठानेर अन्यत्र आचार संहिता उल्लंघन नगर्न आयोगले भनेको छ

एकीकृत नेकपा माओवादीको मेचीकाली चुनावी अभियानमा आचार संहिता उल्लंघन भएको उजुरी परेपछि निर्वाचन आयोगले त्यसलाई छानविन गरीरहेको बताएको छ।

उक्त अभियानमा आचार संहिताको विपरीत कार्य भएको भन्दै नेपाली कांग्रेसले शुक्रबार आयोगमा उजुरी हालेको थियो।

कारवाही

उजुरीको आधारमा छानविन गरिरहेको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जनाएका छन्।

तर सकेको बेला सबैले आचार संहिताको उल्लंघन गर्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

उनले भने, "त्यो उजुरीमा त कारवाही अगाडि बढिसकेको छ। तर भेट्टाएका ठाउँमा चाँही सबैले पर्चाहरु टाँस्ने, झण्डाहरु गाड्ने, तुलहरु टाँग्ने अनि जहाँ आफुले सकिंदैन त्यहाँ चाँहीं अर्कालाई दोष लाउँदै हिंड्ने प्रवृत्ति पनि गर्नु भएन।"

एकीकृत माओवादीको मेचीकाली अभियानमा आचार संहिताले तोकेको दुईवटा मात्र हलुका सवारी साधन प्रयोग गर्न पाउने नियम तोडिएको, प्रचार सामाग्रीलाई जथाभावी प्रयोग गरिएको र बाटो अवरुद्ध गरेर कार्यक्रम गरिएको भन्दै शुक्रबार कांग्रेसले आयोगमा उजुरी गरेको थियो।

उजुरी गर्ने कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले आयोगलाई लक्षित गर्दै भने, "नमान्नेलाई चाँहीं उहाँहरुले केही गर्न नसक्ने, मान्नेलाई चाँहीं गर्न सक्ने जस्तो देखिएको हुनाले स्वतन्त्र निर्वाचन हुन्छ भन्नेमा जनतालाई विश्वास हुन सक्दैन। त्यसैले यस्ता कुराहरु समयमै रोक्नुस् भन्ने निर्वाचन आयोगलाई हाम्रो आग्रह हो।"

अस्विकार

तर एकीकृत माओवादीले भने उक्त आरोपलाई अस्विकार गरेको छ।

उक्त पार्टीका नेता पोष्टबहादुर बोगटीले भने, "हाम्रो वुझाईमा प्रचारको विभिन्न शैली मध्ये त्यो तरीका अपनाएर जाँदा आचार संहिता उल्लंघन हुँदैन।"

आचार संहिता उल्लंघनका घटनाहरु उजुरी गर्ने क्रम बढेपछि आयोगले यस्ता घटनाको जनताले समेत मूल्याङ्कन गर्नु पर्ने जनाएको छ।