फिलिपिन्सको आँधीमा ‘१२० बढीको मृत्यु’

  • 9 नोभेम्बर 2013
Image caption अधिकारीहरूले ताक्लोबान शहरका सडकहरूमा १०० शवहरू रहेका बताएका छन्

फिलिपिन्समा शुक्रबार आएको शक्तिशाली आँधीले १२० भन्दा बढी मानिसको ज्यान लिएको बताइएको छ।

नागरिक उड्डयन अधिकारीहरूले ताक्लोबान शहरका सडकहरूमा १०० शवहरू रहेका बताएका छन्।

त्यहाँका स्थानीय पत्रकारहरूले नजिकैको एक शहरमा रहेको एउटा गिर्जाघरमा २० वटा शव रहेको जनाएका छन्।

‘हाइयान’ नाम दिइएको सो आँधीका कारण भवनहरु ध्वस्त भएका छन् भने पहिरो पनि गएको छ।

ताक्लेबानबाट प्राप्त भिडियोमा सो शहर पानीमा डुबेको देखिन्छ।

क्षतिग्रस्त

सहायता संस्थाहरूलाई सो शहरसम्म पुग्न गाह्रो परेको छ किनभने त्यहाँको विमानस्थल नराम्ररी क्षतिग्रस्त भएको छ।

यद्यपी सो शहरमा सैन्य विमानहरूले उडान गरिरहेका छन्।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा सन्चार सुविधा अवरूद्ध भएको छ।

त्यसैले कुल जनधनको क्षति थाहा पाउन केही दिन लाग्न सक्ने बताइएको छ।

अहिलेसम्म केवल चारजनाको मृत्युको पुष्टी भएको छ।

“भवन तथा घरहरू ध्वस्त भएका र कतिपय ठाउँहरूमा पानीको सतह बढेको र पहिरो गएको जानकारी हामीलाई प्राप्त भएको छ,” फिलिपिन्सका रेडक्रस प्रमुख ग्वेन्डोलिन पाङ्ले एएफपी समाचार संस्थालाई भने।

“तर क्षति कति गंभीर छ, हामी भन्न सक्तैनौं किनभने हामीलाई थाहा छैन।“