इरानको परमाणु कार्यक्रमबारेको वार्तामा सहमति भएन

  • 10 नोभेम्बर 2013
एष्टन र जरीफ
Image caption वार्ता सकारात्मक भएको र पुन:बस्ने कुटनीतिज्ञहरुले बताएका छन्

तेहेरानको परमाणु कार्यक्रमबारे जेनेभामा विश्व शक्ति राष्ट्र र इरानबीच भएको उच्चस्तरीय वार्ता विना सहमति टुंगिएको छ।

तीन दिनदेखि जारी उक्त वार्तामा सहभागीहरुले छलफल सकारात्मक दिशामा अग्रसर भएको भन्दै अब नोभेम्बर २० मा फेरि भेट्ने बताएका छन्।

वार्तापश्चात गरिएको पत्रकार सम्मेलनमा बोल्दै इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले वार्ता सकारात्मक भएको र आगामी वार्तामा सहमति हुन सक्ने बताए।

“स्वाभाविक रुपमा ६ वटा देशहरुका बीच विचारमा भिन्नता रहन्छ। तर हामी संगसंगै काम गरिरहेका छौं, अनि आशा छ हामी अर्को पटक भेट्दा सहमतिमा पुग्न सक्नेछौं,” इरानी विदेशमन्त्रीले भने।

जरीफले वार्ताको परिणामले आफु निराश नभएको बताए। उनले सहमतिका निम्ति अघि बढ्न हौसला मिलेको बताए।

अवसर

अमेरिकि विदेशमन्त्री जोन केरीले वार्ताका दौरान इरानले परमाणु अस्ञ नबनाओस् भनेर सुनिश्चित गर्ने तर्फ महत्वपूर्ण प्रगतिहरु भएका तर कुटनीतिले केही समय लिने प्रतिक्रिया दिए।

वार्ता सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै यूरोपेली युनियनकी प्रमुख कुटनीतिज्ञ क्याथरिन एष्टनले निकै ठोस उपलब्धीहरु हासिल भएको तर अझै केही मतभेद बाँकी रहेको बताइन्।

“हामीले निकै सघन वार्ता र छलफल गरेका छौं। हाम्रो उद्देश्य एउटा ठोस निश्कर्षमा पुग्नु हो। त्यसैका निम्ति हामी फेरि वार्तामा बस्नेछौं,” एष्टनले भनिन्।

यसअघि इरानी राष्ट्रपति हसन रुहानीले पश्चिमा शक्तिहरुलाई उनकै शब्दमा सहमतिमा पुग्ने यस्तो अनुपम अवसर नछाड्न आग्रह गरेका थिए।

तर फ्रान्सका विदेशमन्त्री लराँ फाब्युसले प्लुटोनियम उत्पादन गर्ने रियाक्टर स्थगन गराउन आफुले गरेको आग्रह इरानले नमानेको बताएका थिए।

वार्ताका क्रममा सहमतिको प्रस्तावित ढाँचामा आर्थिक नाकाबन्दीबाट सीमित मुक्तिका साटो इरानले परमाणु गतिविधि रोक्नु पर्ने उल्लेख थियो।

कुटनीतिक स्रोतहरुका अनुसार खासगरी फ्रान्सले केही कडा शर्तहरु तेहरानसमक्ष राखेको थियो।

जेनेभाको वार्तामा एकातिर इरान थियो भने अर्कातिर पी ५+१ अर्थात सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरु अमेरिका, ब्रिटेन, रुस, फ्रान्स र चीन तथा जर्मनी थिए।