बन्दको आदेश दिनेलाई पनि गिरफ्तार गर्न सक्छौं: नेपाल प्रहरी

  • 11 नोभेम्बर 2013
नेपाल बन्द
Image caption सोमबारको आमहडतालपछि चुनावसम्म यातायात अवरोध गर्ने विपक्षीको भनाई छ

चुनावलाई प्रभावित गर्ने गरी वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आम हड्ताललाई कुनै पनि हालतमा सफल हुन नदिनेगरी सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीले जनाएको छ।

आवश्यक परे बन्द गराउन आदेश दिनेलाई पनि गिरफ्तार गर्न सकिने प्रहरी प्रवक्ताले बताएका छन्।

तयार

चुनाव आउन आठ दिन मात्रै बाँकी रहँदा सोमबार घोषणा गरिएको आम हडताललाई नियन्त्रण गर्न विहान चार बजे देखि नै सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता गणेश केसीले भने, "निर्वाचनलाई बहिष्कार गर्ने गरी गरिएको यो आम हाड्ताल र बन्दमा कुनै पनि हालतमा कुनै पनि किसिमको सुरक्षा सम्झौता हुन सक्दैन। यसका लागि नेपाल प्रहरी अग्रभागमा रहेर नियन्त्रण र कारवाही गर्न तयार छ।"

बन्द निस्तेज पार्न नेपाल प्रहरी र म्यादी गरी ९४ हजार तथा ठूलो संख्यामा सेना तथा सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए।

शहरी इलाका, व्यवसाय गर्ने ठाँउ, राजमार्ग तथा सहायक मार्गहरुमा सघन रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ।

गिरफ्तार

कडा सुरक्षाका माझ पनि कसैले बन्द गर्न खोजे बन्दको आदेश दिनेलाई पनि गिरफ्तार गर्न सकिने प्रवक्ता केसीले बताए।

उनले भने, "बन्द गर्न कोही बस्छ भने नियन्त्रणमा लिएर कारवाही गर्छौं। बन्दको आदेश दिने पनि यसमा संलग्न हुन आउनुभयो भने गिरफ्तार गर्छौं।"

उद्योगी ब्यापारीहरुले यसपटकको बन्दलाई अवज्ञा गर्ने चेतावनी यसअघिनै दिएका छन्। तर सर्वसाधारणले भने यस्ता बन्दले त्रास उत्पन्न गरेको बताएका छन्।

आफुहरुको मागलाई बेवास्ता गर्दै विना अर्थको चुनावको आयोजना गरेको भन्दै वैद्य माओवादी लगायतले चर्को विरोध गर्दै आएका छन्।