फिलिपीन्समा आंधीले पुर्‍याएको क्षति “अभूतपूर्व”

  • 12 नोभेम्बर 2013
आंधी पिडितहरु
Image caption राहतका लागि राष्ट्रसंघले केन्द्रीय आपतकालीन कोषबाट २ करोड ५० लाख डलर निकासा गरेको छ।

संयुक्त राष्ट्रसंघले फिलिपीन्सका टापुहरुमा समुद्री आंधीले पुर्‍याएको विनाशको स्तरलाई विशाल र अभूतपूर्व किसिमको भनेको छ।

उक्त विश्व निकायका अनुसार झण्डै ९८ लाख मानिसहरु आंधीबाट प्रभावित हुन पुगेका छन् भने ६ लाख साठी हजार जना विस्थापित छन्।

त्यहां जरुरी प्राथमिकता भनेको बांचेकाहरुलाई पीउने पानी र खानेकुराको बन्दोबस्त गर्नु र मृतकहरुलाई समाधीस्थ गर्नु रहेको छ।

राहत

राहत कार्यका लागि राष्ट्रसंघले आफ्नो केन्द्रीय आपतकालीन कोषबाट २ करोड ५० लाख डलर निकासा गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले, हाइयान आंधीबाट प्रभावित पिडितहरुका लागि राष्ट्रसंघले ठूलो स्तरको मानवीय सहायता योजना आरम्भ गर्ने बताउंदै राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई फिलिपीनी जनताका साथ ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।

महासचिव बान की मूनले राहत प्रयासले तुरुन्तै गति लिनु पर्ने बताउंदै भने, “यो महाआंधीले ल्याएको विनाशको हृदय विदारक तस्वीरहरु हामी सबैले देखेका छौं।

"म सदस्य राष्ट्रहरुलाई राहत प्रयासमा तिनीहरुको योगदानका लागि धन्यवाद दिन्छु र अब आउंदा दिनमा त्यस्तो प्रयासले तीव्रता पाउनु जरुरी रहेको छ।”

अभूतपूर्व

राहत कार्यको संयोजनमा सघाइरहेका राष्ट्रसंघका मानविय सहायता अधिकारीहरुले हाइयान समुद्री आंधीले पुर्‍याएको विनाशलाई, विशाल र यसअघि कहिल्यै नभएको जस्तो भनेका छन्।

फिलिपीन्स सरकारले यो महाविपदका बेला देखाएको प्रतिक्रियालाई राष्ट्रसंघले सराहनिय भनेको छ।

तर पिडितहरुका लागि गर्नु पर्ने काम धेरै बांकी रहेको स्पष्टै छ।

राहत टोलीहरुले पिडितहरुका निम्ती हाल स्वच्छ पानी, खानेकुरा, ओत लाग्ने व्यवस्था र चिकित्सा सहायताको बन्दोबस्त गर्नमा ध्यान केन्द्रीत गरिरहेका छन्।

संगसंगै रोग फैलिन नदिन मृतकहरुलाई चांडो भन्दा चांडो समाधीस्थ गर्नु पर्ने आवश्यकता पनि टडकारो रहेको छ।

व्यवधान

Image caption राहतको आशामा ताक्लोबान शहरका बासिन्दा त्यहांको विमानस्थलमा पर्खेर बसेका छन्

तर भत्किएको बाटो र स्थानीय पूर्वाधारहरुमा पुगेको क्षतिका कारण राहत प्रयासमा व्यवधान पुगेको छ।

राष्ट्रसंघको आपतकालीन राहत संयोजक भ्यालेरि एमोस फिलिपीन्स जांदै छिन्।

उनले राष्ट्रसंघीय केन्द्रीय आपतकालीन कोषबाट २ करोड ५० लाख डलर रकम निकासा गरिएको घोषणा गरेकी छिन्।

राष्ट्रसंघले यो विपदका प्रति ठूलो स्तरमा प्रतिक्रिया जनाउनु पर्ने आवश्यकता रहेको बताएको छ।

संयुक्त राज्य अमेरिकाले फिलिपीन्समा राहत कार्यमा सहयोग पुर्‍याउन एउटा विमान वाहक जहाज त्यस तर्फ पठाउंदैछ।

अन्य थुप्रै राष्ट्रहरुले पनि आपतकालीन प्रतिक्रियामा आ-आफ्नो तर्फबाट योगदान दिइरहेका छन्।