फिलिपिन्समा हताशाको स्थिति

  • 13 नोभेम्बर 2013
एकजना घाइते
Image caption प्रभावित क्षेत्रहरुमा अहिले पनि खाने कुरा, पिउने पानी र औषधिको अभाव कायमै रहेको छ

फिलिपिन्समा विध्वँशक समुद्री आँधीबाट बाँच्न सफल लाखौं मानिसहरुले खाने कुरा र पिउने पानीको खोजी गरिरहँदा हताशाको स्थिति देखिएको छ।

सबैभन्दा बढी प्रभावित ताक्लोवान नगरमा एउटा भीडले चामल भण्डारमा धावा बोलेपछि पर्खाल भत्कँदा आठजनाको ज्यान गएको छ।

अधिकारीहरुले कानुन व्यवस्था कायम गर्न नसकिएकाले सहायता वितरणमा वाधा पुगिरहेको जनाएका छन्।

अधिकारीहरुले समुद्री आंधी हाइयानबाट बाँच्न सफल मानिसहरु खाने कुरा, पिउने पानी र औषधिकालागि अत्यन्त व्यग्र भएको बताएका छन्।

आधिकारिकरुपमा मारिनेहरुको संख्या दुई हजार बताइएको छ, यद्यपि केही समाचारहरुमा मारिनेहरुको संख्या दशहजार पुग्नसक्ने आशंका गरिएको छ।

विस्थापित

संयुक्त राष्ट्रसंघले एक करोड दशलाख भन्दा बढी मानिसहरु आंधीबाट प्रभावित भएको तथा झण्डै ६ लाख त्रिहत्तर हजार विस्थापित भएको जनाएको छ।

ताक्लोवान नगरकी एकजना विस्थापित महिला जोय आइसियासले भनिन्, "हाम्रो घरवास छैन। धेरै गाह्रो छ। मरेका शवहरुबाट दुर्गन्ध फैलिरहेको छ। कैदीहरु जेलबाट भागेका छन्। बलात्कार र लुटपाटका घटनाहरु भैरहेका छन्। स्थिति एकदमै कठीन छ।"

राष्ट्रिय खाद्य प्राधिकरणका एकजना प्रवक्ताले भने, "लेटे प्रायद्वीपस्थित आलाङगालाङ खाद्य भण्डार केन्द्रबाट मानिसहरुले एकलाख बोरा भन्दा बढी चामल लुटेर लगे तर प्रहरी तथा सैनिकहरुले उनीहरुलाई रोक्न सकेनन्।"

मनिलास्थित अन्तर्राष्ट्रिय रेडक्रसकी एकजना अधिकारीले मानिसहरु भोकभोकै रहेकाले खानेकुरा र पिउने पानीकालागि उनीहरुले जे सुकै गर्न खोज्नु एउटा सामान्य कुरा भएको बताइन्।

सोआद मासुदीले भनिन्, “समस्या के हो भने पूर्वाधार नराम्रोसँग भत्किएको छ। सन्चार सम्पर्क गर्न एकदमै कठिन छ। विमानहरुमा ठाउँ छैन। मानिसहरु व्यग्र छन्।“

सहायता

सँसारभरिका मुलुकहरुले सहायताकालागि वाचा गरिरहँदा सँयुक्त राज्य अमेरिका र जापानले तिनका नौसैनिक पानी जहाजहरु पठाएका छन् र ठूलो सँख्यामा सैनिकहरु पठाउने आश्वासन दिएका छन्।

फिलिपिन्ससँग भूभागसँबन्धी विवादमा अल्झिएको चीनले पनि एकलाख अमेरिकी डलर सहायता गर्ने प्रस्ताव गरेको छ।

तर ताक्लोवान पुगेका बीबीसीका संवाददाता जोनाथन हेड भन्छन्, त्हाँ संयोजित सहायता वितरण कारवाहीको कुनै संकेत देखिँदैन।

सँयु्क्त राष्ट्र संघले फिलिपिन्सको विध्वँशक आँधीबाट बाच्न सफलहरुलाई सघाउन तीस करोड डलरभन्दा बढी सहायताकालागि आह्वान गरेको छ र तत्कालको आवश्यकता पुरा गर्नकालागि अढाइ करोड डलर निकासा गरिसकेकेा छ।