‘हताहतीको संख्या अनुमान गरेभन्दा कम’

  • 13 नोभेम्बर 2013
typhoon
Image caption हैयान हालसम्मकै शक्तिशाली आँधी भनिएको छ

फिलिपिन्सका राष्ट्रपति बनिग्नो अकिनोले गत साता त्यहां आएको विनाशकारी आंधीका कारण ज्यान गुमाउनेको संख्या यसअघि अनुमान गरिएको भन्दा कम रहेको हुन सक्ने बताएका छन्।

एक अमेरिकी टेलिभिजनंगको अन्तर्वार्तामा उनले फिलिपिनी सरकार हताहती हुनेको संख्या यकीन गर्न अझै प्रयासरत रहेको बताएका हुन्।

राष्ट्रसंघले भने १ करोड १० लाखभन्दा बढी प्रत्यक्षरुपमा प्रभावित भएको र करिब पौन सात लाख मानिस विस्थापित भएको अनुमान गरेको छ।

संख्या

शुक्रबार आएको विनाशकारी आंधीका कारण १० हजारले ज्यान गुमाएको प्रारम्भिक अनुमान गरिएको थियो। तर त्यस्तो अनुमान आंधी प्रभावित क्षेत्रका स्थानीय अधिकारीहरुबाट आएको हुनसक्ने र संकटको केन्द्रमा रहंदाको भावनात्मक पीडाबाट उनीहरुले त्यस्तो बताएको हुन सक्ने अकिनोले तर्क गरे।

अमेरिकी टेलिभिजन सीएनएनसंगको अन्तर्वार्तामा उनले मृत्यु हुनेको संख्या २५ सयसम्म हुन सक्ने समेत बताए।

तर राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निर्देशक जन गिंगले प्रभावितहरुको संख्या निकै ठूलो हुनसक्ने तर सबै प्रभावित स्थानमा पुग्न नसकिएकाले यकीन संख्या पत्ता लगाउन कठीन भएको बताएका छन्।

उनले १० लाखभन्दा बढी मानिस प्रत्यक्ष रुपमा प्रभावित भएको तथा झण्डै पौने सात लाख मानिस विस्थापित भएको उल्लेख गरे।

आक्रोश

संख्याबारे परस्परविरोधी धारणाहरु सार्वजनिक भइरहंदा प्रभावित क्षेत्रका मानिसहरुले भने राहतमा ढिलाइ भएको भन्दै आक्रोश पोखेका छन्।

उनीहरुले आफूहरुलाई खाना र शुद्ध पिउने पानीको अत्यन्तै आवश्यकता रहेको बताएका छन्।

तीमध्येकी एक जना महिलाले भनिन्,“सबैभन्दा ठूलो समस्या भनेको खानाको हो। धेरै मानिस मरे। हामीलाई खाना चाहिएको छ। पानी चाहिएको छ। अनि मृत्यु भएकाहरुको शव गाड्नु जरुरी छ।”

यसैबीच राष्ट्रसंघले प्रभावित मानिसहरुको सहयोगका लागि २ करोड ५० लाख अमेरिकी डलर निकासा गरिसकेको छ।