दलहरूद्वारा विदेशस्थित इकाइहरुबाट 'पैसाकै बढी अपेक्षा'

  • 15 नोभेम्बर 2013
Image caption विदेशमा रहेका नेपालीहरुका मुख्य सरोकारका विषयमा दलहरुले खासै ध्यान नदिएको गुनासो सुनिन्छ

चुनाव बहिष्कारको आह्वानका बावजुद देश भरिनै चुनावको चहलपहल बढिरहेका बेला विदेशमा कतिपय ठाउँमा रहेका नेपालीहरुलाई पनि चुनावको तातोले छोएको देखिएको छ।

विभिन्न प्रमुख दलका भ्रातृ निकायहरु त चन्दा संकलन देखि नेपालमा रहेका शुभेच्छुकहरुसँग सम्पर्क गरी मातृ पार्टीकालागि भोट माग्न व्यस्त देखिन्छन्।

प्रमुख दलका विदेशस्थित राजनीतिक इकाईहरुलाई पनि चुनावको चटारोले छोएको छ।

आफू सम्बद्ध दल र उम्मेदवारको पक्षमा सहयोग संकलन तथा नेपालमा आफन्तहरुसंग सम्पर्क तथा प्रचार प्रसार उनीहरुको कार्यसूचीमा पर्दछन्।

त्यसका लाग‌ि आफूहरुले प्रवासमा बसेर पनि काम गरी रहेको कुरा नेकपा एमालेसंग आबद्ध नेपाली लोकतान्त्रीक मंच युकेका अध्यक्ष दिनेश घिमिरेले बताए।

उनले भने, “हामी नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न होस्, संविधानसभाले देशलाई संविधान दिन सकोस् भन्ने अपेक्षाका साथ बसेका छौं।

“हाम्रो पार्टी नेकपा एमालेलाई वैचारीक रुपमा, आर्थिक रुपमा विदेशबाट सहयोग गरि रहेका छौं। संभव भएसम्म साथीहरु लाई देशमा जाने, सघाउने, चुनावको प्रचार प्रसार गर्ने, भाग लिने, आफूसंग भएका श्रोत र साधनहरु सबै परिचालन गर्न अनुरोध गरि रहेका छौं।“

अपेक्षा

नेपालका दलहरूले चाहीं विदेशस्थित आफ्ना इकाइहरु बाट आर्थिक सहयोगकै बढी अपेक्षा राख्‍ने गरेको पाइन्छ।

नेपाली कांग्रेसको इकाईको रुपमा रहेको नेपाली जनसम्पर्क समिति युकेकाअध्यक्ष लोक गुरुङले भने, “हामीले पार्टीलाई मात्र होईन, नेपालमा प्राकृतिक विपद आइ पर्दा पनि सहयोग पु-याउंदै आएका छौं।

“अहिले चुनावको बेला पनि पार्टीलाई केही आर्थिक सहयोग गरेका छौं। हामीले प्रचार सामाग्रीमा पनि सहयोग पु-याएका छौं।“

युरोप, अमेरिका, जापान, अष्ट्रेलिया, खाडी राष्ट्रहरु तथा भारत लगायत नेपालीहरूको बाक्लो बसोबास रहेका देशहरुमा नेपालमा चुनावको घोषणा हुनासाथ यसरी सहयोग संकलन गर्ने काम शुरु भएको बताइन्छ।

चुनावका बेला आफ्ना भ्रातृ संगठनहरुलाई सम्पर्क गर्ने नेपालका दलहरुले विदेशमा बस्ने नेपालीहरुका मुख्य सरोकारका विषयमा चाहीं खासै ध्यान नदिएको गुनासो सुनिन्छ।

तर एकिकृत माओवादीसित आबद्ध जनप्रगतिशील मंच युरोपका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ यो गुनासोसित सहमत छैनन्।

उनले गैह्र आवासीय नेपालीहरुले उठाउँदै आएको नागरिकताको निरन्तरतालाई एकिकृत माओवादीले स्पष्ट रुपमा आफ्नो घोषणापत्रमा राखेको बताए।

“त्यसैले चुनावको बेलामा मात्र संझन्छन् भन्न मिल्दैन।“

सहयोगको हिसाब

प्रमुख दलहरुले चुनावका बेला विदेशबाट कति सहयोग प्राप्त भयो भन्ने हिसाब न त आफ्नै दल भित्र न निर्वाचन आयोगलाई नै देखाउने गरेका छन्।

काठमाण्डूका चार क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु उठाएको विवेकशील नेपाली भन्ने संगठनले आफूलाई प्राप्त सहयोगको सम्पूर्ण विवरण इन्टरनेटमा प्रकाशित गरेको बताएको छ।

त्यस प्रकारको पारदर्शीताको अभ्यास प्रमुख दलहरूले अझै नगरेको थुप्रैले आलोचना गरेका छन्।