निर्वाचन सुरक्षा सुदृढ : प्रहरी

  • 16 नोभेम्बर 2013
Image caption संविधानसभाको दोस्रो चुनावका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ

चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन डेढ महिनादेखि प्रचारमा जुटेका प्रमुख दलका शीर्ष नेताहरु प्रचार गर्ने अन्तिम दिन शनिबार बिहानैदेखि चुनावीसभा सम्बोधन गर्नमै व्यस्त रहे।

एमाओवादी अध्यक्ष प्रचण्डले शनिबारमात्रै काठमाण्डू, भक्तपुरलगायत सिन्धुलीको चुनावी सभालाई सम्बोधन गरे भने नेपाली कांग्रेस सभापति सुशिल कोईराला सुदूरपश्चिमका सभाहरूमा उपस्थित भएका थिए।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल गृहजिल्ला ईलाम पुगेका छन्।

नियन्त्रणमा

यसैबीच चुनाव लक्षित बहिस्कारवादीको विथोल्ने गतिविधि नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

विभिन्न ठाउँमा छिटफूट विस्फोट, आक्रमण र तोडफोडका घटनाहरु भएपनि शनिबार कुनै मानवीय क्षति नभएको प्रहरी प्रवक्ता गणेश केसीले बताएका छन्।

उनले भने, “बन्दको दिनदेखि आजसम्म घटनाहरु निकै सामान्य बन्दै आएका छन्। हामीले मतदान केन्द्रलाई पनि सुरक्षा घेरामै राखेकोले जनताहरु ढुक्क भएर भोट हाल्न सक्ने स्थिति छ।”

बहिष्कारवादीले देशैभरी छिटफूट घटनाहरु घटाईरहे पनि प्रचारमा रहेका उम्मेदवारहरुलाई भने त्यसले खासै असर नपारेको प्रहरीले जनाएको छ।

अमानवीय

राजधानी लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव खासै नदेखिँदा पनि फिर्ता नलिएको मोर्चाले आक्रमण र तोडफोडको घटनाको जिम्मेवारी लिएको छैन।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले यात्रु सवार बसमाथि पेट्रोल बम प्रहार गर्ने लगायतका गतिविधिबाट बालबालिकासमेत घाईते भएको घटना उल्लेख गर्दै शनिबार आयोजित सञ्चारकर्मीसँगको भेटमा पशुले नगर्ने ब्यवहार भन्दै टिप्पणी गरेका छन्।

उनले भने, “पशुले पनि नगर्ने अमानवीय व्यवहारलाई घृणा व्यक्त गर्ने शब्द पनि मसँग छैन, यस्तो काममा सरकारले कारवाही गर्नुपर्छ।”

कुनै समय नेपालको शान्ति प्रकृयामा प्रत्यक्ष संलग्नता देखाएको संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले चुनौतिका बावजुद सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु चुनाव सफल बनाउन प्रतिबद्ध देखिएकोमा आफू उत्साही भएको विज्ञप्ति जारी गरेका छन्।