आफ्नै घोषणाविपरीत चन्दा संकलन

  • 16 नोभेम्बर 2013
fncci
Image caption यस्ता खाले अन्तरक्रियामा राजनीतिक नेतृत्वले जबर्जस्ती चन्दा नलिने भन्ने गरेपनि त्यो रोकिन सकेको छैन

चुनावी प्रयोजनका लागि बैंकिग प्रणालीबाट मात्रै चन्दा तथा सहयोग रकम लिने घोषणा गरेका केही मुख्य दलले त्यसविपरीत अन्य माध्यमबाट पनि रकम संकलन गरेको देखिएको छ।

दलहरुले भने त्यसको बचाव गर्दै प्राविधिक कारणले त्यसो गर्नुपरेको र अन्य माध्यमबाट संकलित रकम पनि अन्तत: बैंक खातामा नै जम्मा गरी त्यसको लेखापरीक्षण गराउने बताएका छन्।

आशंका

गत भदौ दोस्रो साता नेपाली कांग्रेसले बैंकिग प्रणालीबाट मात्रै चन्दा लिने घोषणा गरेपछि त्यसको प्रभावकारिताबारे आशंकाबीच पनि उक्त कदम सकरात्मक भन्दै विभिन्न पक्षले स्वागत गरेका थिए।

लगत्तै अन्य दुई ठूला दल एकीकृत माओवादी र नेकपा एमालेले पनि त्यसलाई पछ्याए।

तर उक्त प्रतिवद्धता विपरीत ती दलले बैंकिग प्रणालीबाहेकका माध्यमबाट पनि रकम संकलन गरेको भेटिएको छ र त्यसो गर्नुका पछाडि उनीहरुले झीना मसिना जस्ता देखिने कारणहरु दर्शाएका छन्।

त्यसको झल्को एकीकृत माओवादीका कार्यालय सचिव प्रल्हाद बुढाथोकीको यो भनाइमा पनि देखिन्छ।

उनको भनाइ छ, “ बैंक पुग्न नभ्याएकाहरुले नगद नै दिइरहेका छन् तर त्यो पनि हामी सार्वजनिक गर्छौं”।

लेखापरीक्षण

यसरी नगद संकलन गरिएपनि रसिद दिने गरिएको र त्यो अन्तत: पार्टीको बैंक खातामा नै जम्मा गरिने एमालेको भनाइ छ।

एमालेको अर्थ विभाग प्रमुख भरतमोहन अधिकारी भन्छन् ,"बैंकिग प्रणाली पूरै शुरु भइनसकेको अवस्थामा रसिद काटेर पनि लिइरहेका छौं। तर त्यो पछि बैंक खातामै जम्मा हुन्छ र हामी त्यसको लेखापरीक्षण गराउंछौं।"

नगद

तर पारदर्शिता अपनाउने यस्ता भनाइप्रति आशंकामिश्रित लवजमा केही व्यापारीले बैंकिग प्रणालीबाहेकका माध्यमबाट पनि रकम माग्ने क्रम अझै नरोकिएको पुष्टि गर्दै त्यसप्रति दु:खेसो पोखेका छन्।

आफूलाई जबर्जस्ती चन्दाको विरोधी भन्ने राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकारले भने,"हामीलाई नगद नै दिनुस् पार्टीलाई दिनुपर्दैन भन्ने अनुरोध आएका छन्। नगद भए सीधै कामका लागि प्रयोग गर्न सकिन्छ कि भन्ने जिज्ञासा आउने गरेको छ।"

सबैभन्दा पहिले, बैंकिग प्रणालीबाट चन्दा सकंलन गर्ने घोषणा गरेको नेपाली कांग्रेसले भने यो मामिलामा मुख खोलेको छैन।

हालसम्म संकलित रकमको विवरण पनि उपयुक्त समयमा मात्रै खुलाउने कांग्रेसका नेताहरुले बताएका छन्।