श्रीलंकाद्वारा आडम्बर प्रदर्शन नगर्न चेतावनी

  • 17 नोभेम्बर 2013
श्रीलंका राष्ट्रमण्डल सम्मेलन
Image caption कोलम्बोको सम्मेलन युद्ध अपराध आरोप छानबिनका मुद्दाले छायाँमा परेको छ

श्रीलंकाको गृह युद्ध अन्त्य हुँदा ताका, त्यहाँ भएका भनिएका युद्ध अपराधका आरोपहरुलाई कसरी सम्बोधन गर्ने भन्ने बारे, श्रीलंका तथा ब्रिटेनबीच देखिएको मतभेदले, राजधानी कोलम्बोमा जारी राष्ट्रमण्डल सम्मेलनलाई छायाँमा पारिदिएको छ।

ब्रिटेनले अन्तर्राष्ट्रिय छानबिनका लागि गरेको आव्हानप्रति, श्रीलंकाली राष्ट्रपति महिन्दा राजापक्षेले चर्को प्रतिक्रिया दिएका छन्।

शीशाको घरमा बस्नेहरुलाई ढुंगा प्रहार नगर्न भन्दै उनले ब्रिटेनलाई आडम्बर प्रदर्शन नगर्न चेतावनी दिए।

एकजना बीबीसी सम्वाददाता भन्छन्, उनको इशारा, इराक युद्ध तथा उत्तरी आयरल्याण्डमा सन् १९७२ मा भएका हत्याहरुमाथि छानबिन गर्न ब्रिटेनले गरेको भनिएको ढिलाईतर्फ, लक्षित छ।

प्रतिबद्ध

ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले, कोलम्बोमाथि लागेका आरोपहरुबारे अन्तर्राष्ट्रिय छानबिनका निम्ति आफुले निरन्तर दबाब दिने बताएका छन्।

“यस्ता मुद्दाहरु केवल एक भ्रमणले सुल्झिने होइनन्। यो त वार्ता हो, कुराकानी हो। यस्तो दबाब लामो समयसम्म कायम राख्नुपर्छ। म त्यसका निम्ति प्रतिबद्ध छु,” क्यामरनले बताए।

मानव अधिकारप्रतिको चिन्ताका कारण उनलाई सो सम्मेलनमा भाग नलिन दबाब परेको थियो।

तर आफुले श्रीलंकाली सेनामाथि लागेका युद्ध अपराधका आरोपबारेको विषय उठाउने भन्दै उनी कोलोम्बो पुगेका थिए।

कोलोम्बोको सम्मेलनमा भारत र क्यानाडाका प्रधानमन्त्रीले भाग लिएका छैनन्।

राष्ट्रमण्डल, विगतमा ब्रिटिश साम्राज्यको उपनिवेश बन्न पुगेका देशहरुको संगठन हो।