देशभर मतदान शुरु

  • 19 नोभेम्बर 2013
ca election
Image caption मतदानका लागि मतदाताहरु बिहानैदेखि लामवद्ध भएका थिए

देशभरका झण्डै साढे अठार हजार मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ। झण्डै सवा करोड मतदाताले करिब सवा सय दल तथा तिनका उम्मेदवारहरुमध्येबाट प्रतिनिधि छान्दैछन्।

बेलुकी ५ बजे सम्म मतदान जारी रहने छ। मतगणनाको काम मंगलबार रातिबाट शुरु गरिने र एक हप्ताभित्र पहिलो हुनेले जित्ने तर्फको परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ।

अनुरोध

फोटोसहितको मतदाता नामावलीमा दर्ता भएका एक करोड २१ लाख मतदाताहरुले भोट हाल्ने अपेक्षा गरिएको मतदानस्थलहरुमा मतदाताहरुको भीड लागेको छ।

मंगलबार सांझ ५ बजे मतदान सम्पन्न भएपछि मतदान अधिकृतहरुले मतपेटिकाहरु निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्नेछन्।

यसका लागि नेपाली सेनाको सहयोगमा मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याइनेछ र मतगणना शुरु हुनेछ।

ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आग्रह गरेका छन्।

उनले भने, “हल्का रातो रङको मतपत्रमा आफूलाई मन परेको उम्मेदवार र हल्का नीलो रङको मतपत्रमा आफ‍ूले मन पराएको राजनीतिक दललाई मतदान गर्नुहुन अनुरोध गर्दछु।”

नतिजा

निर्वाचन प्रक्रियाहरु सामान्य अवस्थामा सम्पन्न भएमा पहिलो हुनेले जित्ने प्रणाली अन्तर्गतका निर्वाचनका आंशिक परिणामहरु बुधवारदेखि आउन शुरु हुने र समानुपातिकतर्फको नतिजा आउन तीन हप्ता लाग्ने आयोगको भनाइ छ।

दोस्रो संविधानसभाको निर्वाचनले पनि विगतको झैं पहिलो हुनेले जित्ने प्रणालीबाट २४० जना, समानुपातिकबाट ३३५ जना र मन्त्रिपरिषदबाट मनोनित २६ जना गरी ६०१ जनाको संविधानसभा बनाउनेछ।

एक युगमा एक चोटी मात्रै आउने भनिएको संविधानसभाको पहिलो निर्वाचन २०६४ सालमा सम्पन्न भएको थियो।

अनेकौं विवादका माझ संविधान नै नबनाई २०६९ साल जेठ १४ गते उक्त सभा विघटन भएको थियो।

सुरक्षा

दोस्रो संविधानसभाको चुनावको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी सहितको मोर्चाले चर्को विरोध गरेको छ।

गोलमेचमार्फत विषयगत प्रष्टता लगायतका मागहरु पूरा नभएको भन्दै उनीहरुले निर्वाचनको बहिष्कार गर्दै यातायात हड्तालको आयोजना गरेका छन्।

ठाउँठाउँमा भएको हिंसात्मक कारबाहीका कारण सरकारले सुरक्षा चुस्त बनाएको जनाएको छ।

निर्वाचन व्यवस्थापन गर्न करिब दुई लाख सुरक्षाकर्मी तथा उति नै संख्यामा कर्मचारी खटाइएका छन्।