ऐतिहासिक मतदान: निर्वाचन आयोग

  • 19 नोभेम्बर 2013
Image caption कूल मतदाता संख्याको झन्डै ७० प्रतिशतले भोट खसालेको निर्वाचन आयोगले अनुमान गरेको छ

कतिपय दलको बहिष्कार आह्वानका माझ भएको दोस्रो संविधानसभा निर्वाचनमा इतिहासमै सबैभन्दा बढी भोट खसेको निर्वाचन आयोगले बताएको छ।

कुल १ करोड २२ लाख मतदाता मध्ये कम्तिमा ७० प्रतिशतले चुनावमा भोट हालेको आयोगको प्रारम्भिक अनुमान छ।

चुनावमा उत्साहजनक सहभागिता भएको भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट स्वागत गरिएको छ।

शंका

नेकपा-माओवादी नेतृत्वको मोर्चाको चुनाव बहिष्कार गर्ने घोषणा र चुनावी अभियानका क्रममा देखिएका हिसांत्मक घटनाका कारण कतिपयले दोस्रो संविधानसभाको चुनावलाई शंकाकै घेरामा राखेका थिए।

चुनाव बहिष्कार गर्ने मोहन बैद्य नेतृत्वको मोर्चाले गरेको आह्वानलाई बेवास्ता गर्दै करिब ७० प्रतिशत भन्दा बढी मतदाताले भोट खसालेको निर्वाचन आयोगको अनुमान छ।

मतदान सकिएपछि प्रमुख निर्वाचन आयुक्त नीलकन्ठ उप्रेतीले भने, “पूर्ण विवरण आउँदासम्म यो प्रतिशत बढ्ने हामीले आशा गरेका छौं। सफलताको द्योतकको रूपमा रहेको यो मतप्रतिशत नेपालको निर्वाचनकै इतिहासमा सर्वाधिक बढी हो।”

डोल्पा, रौतहट र गोरखा जिल्लामा ८० प्रतिशत भन्दा बढी मतदाताले भोट खसाएको र सबैभन्दा कम भोट खसेका जिल्लामा पनि कूल मतदाताको ६५ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगको भनाइ छ।

पाँच वर्षअघिको पहिलो संविधानसभा चुनावमा कूल मतदाताको ६० दशमलव सात प्रतिशतले भोट खसालेका थिए।

शान्तिपूर्ण

यसअघि चुनावी अभियान क्रममा देखिएका हिसांत्मक गतिविधिहरु प्रति चिन्ता प्रकट गरिएको थियो।

तर मतदानको दिन चुनाव विरोधी समुहहरुले छिटफूट हिसांका गतिविधि गराएका र केही स्थानमा चुनाव पक्षधर दलहरु बीच झडप भएका छन्।

विभिन्न स्थानमा भएका चुनावी हिंसामा २३ जना घाइते भएका र ४४ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

कुल १८ हजार ४ सय मतदान केन्द्रमध्ये जुम्लाको एउटा मतदान केन्द्रमा मात्र मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ।

चुनाव बहिष्कार गरेको नेकपा-माओवादीको प्रभावक्षेत्र मानिने रोल्पाको थवाङमा कसैले पनि मतदान नगरेको जनाइएको छ।

सरकारले उच्च सुरक्षाका साथ मतपेटिकाहरुलाई जिल्ला सदरमुकाम ल्याउने काम शुरु गरेको छ।

निर्वाचन आयोगले कतिपय सुगम जिल्लाहरुमा साँझबाटै मतगणना शुरु हुने बताएको छ।

अवसर

चुनाव सकिए लगत्तै एउटा विज्ञप्ति जारी गर्दै बहिष्कारवादी मोर्चाले सबै राजनीतिक शक्तिहरुका बीचमा संवाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, दलहरु र नागरिक सामाजसँग अपिल गरेको छ।

नेकपा-माओवादीका सचिव देव गुरुंगले मोर्चाका तर्फबाट विज्ञप्ति जारी गर्दै राजनीतिक संवाद र सहमतिको विकल्प नरहेको उल्लेख गरेका छन्।

चुनावी सरकारको नेतृत्व गरिरहेका प्रधान्यायधीश खिलराज रेग्मीले दोस्रो संविधानसभा मतदान सम्पन्न हुनुलाई नेपालीहरुको सुखद भविष्यको शुरूवात भनेका छन्।

यसअघि निर्धारित दुई वर्ष र थपिएको दुई वर्ष गरी चार वर्षको आफ्नो कार्यकालमा संविधान नलेखि करिब डेढ वर्षअघि पहिलो संविधानसभाको अवसान भएको थियो।

संविधानसभाको अवसानमा दोषी भएकोमा मुख्य दलका शीर्ष नेताहरुको आलोचना गर्ने गरिएको छ।

अधिकांश मतदाताहरुले नेताहरुले आफ्नो विगतको गल्तीबाट पाठ सिक्नुपर्ने र संविधान लेख्ने दोस्रो अवसर गुमाउन नहुने बताएका थिए।