'बिहीवार बेलुकादेखि अन्तिम परिणाम आउन थाल्नेछ'

  • 20 नोभेम्बर 2013
Image caption मंगलबार सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणामहरु प्राप्त हुन थालेका छन्

मंगलबार सम्पन्न संविधानसभाको दोश्रो निर्वाचनको मतगणनाका प्रारम्भिक परिणाम आउने क्रम शुरु भएको छ।

पहिलो हुनेले जित्ने प्रणाली अन्तर्गतको २४० क्षेत्रमध्ये आधाजति क्षेत्रको मतगणना शुरु भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता बीरबहादुर राइले भने, "भोलि बेलुकादेखि अन्तिम परिणाम प्राप्त हुने क्रम शुरु हुने अनुमान हाम्रो छ।"

हिमाली र पहाडी क्षेत्रको मतपेटिका आउने क्रम जारी रहेको प्रवक्ता राईले बताए।

अग्रता

अहिलेसम्म प्राप्त परिणाममा नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ।

नेकपा एमाले दोश्रो स्थानमा देखिएको छ।

यसअघिको सबभन्दा ठूलो दल एकीकृत माओवादी तेश्रो स्थानमा देखिएको छ।

तर मत गणनाको प्रारम्भ मात्र भएकाले अन्तिम परिणामको आंकलन तत्काल संभव देखिन्न ।

मतदानको प्रारम्भिक परिणामहरु आइरहँदा धेरैको ध्यान प्रमुख दलका शीर्षनेताहरु र अन्य चर्चित नेताको मत परिणाममा पुगेको देखिन्छ।

शीर्ष नेता

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता सुशील कोइराला उम्मेदवार बनेका क्षेत्रको मतगणना भइरहेको भएपनि प्रारम्भिक चरणमा रहेकाले शीर्ष नेताहरु कहिले प्रतिस्पर्धी उम्मेदवारका तुलनामा अगाडि र कहिले पछाडि परेका देखिन्छन्।

करिब साढे पाँच वर्षअघि भएको पहिलो संविधानसभा निर्वाचनमा प्रारम्भिक परिणाम देखि नै एकीकृत माओवादीले अग्रता लिएको थियो।

यसपटक त्यसको विपरित माओवादी तेश्रो स्थानमा रहेको प्रारम्भिक परिणामले देखाएका छन्।

फेरबदल

पहिलो हुनेले जित्ने प्रणाली अन्तर्गत रहेको २४० सीटमा जसले अग्रता लिएपनि संविधानसभामा प्रतिनिधित्व गर्ने सबभन्दा धेरै सीटसंख्या ३३५ समानुपातिक मत जसले धेरै हात पार्नेछ त्यसैका आधारमा दलहरुको शक्ति थपघट हुनेछ।

प्रारम्भिक अग्रता पहिलो निर्वाचनको भन्दा फरक देखिएकाले अब बन्ने संविधानसभाको शक्ति सन्तुलन पहिले भन्दा फेरबदल हुने आंकलन गर्न थालिएको छ।