कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा

  • 22 नोभेम्बर 2013
EC
Image caption निर्वाचन आयोगले सबै चुनावी नतिजा मंसिर महिना भित्रै औपचारिक रुपमा सार्वजनिक गर्ने बताएको छ

दोस्रो संविधानसभा निर्वाचनको पछिल्लो नतिजामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्म दुवै पार्टी ३५ सिटको हाराहारीमा विजयी भएको समाचारहरुमा उल्लेख गरिएको छ।

पहिलो संविधानसभामा ठूलो दलका रुपमा उदय भएको एकीकृत माओवादी अहिलेसम्म ७ स्थानमा विजयी भएको बताइएको छ।

प्रतिस्पर्धा

समानान्तर रुपमा विजय भईरहेका नेपाली कांग्रेस र नेकपा एमाले मतगणना जारी रहेका क्षेत्रमा पनि उनीहरुको अग्रता, हाराहारीमै देखिन्छ।

देशभरका २४० क्षेत्रमध्ये १२ मा भने मतगणना गर्न अझै बांकी रहेको निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राइले बताए।

उनले भने, "अब १२ ठाउँको मात्रै मतगणना सुरु गर्न बाकिँ छ, परिणाम भने औपचारीक निर्णयमार्फत एकैपटक सुनाउँछौं।"

ताजा नतिजा अनुसार नेपाली कांग्रेस, काठमाडौंका ७ क्षेत्रमा विजयी भएको छ भने नेकपा एमाले बाँकी ३ स्थानमा विजयी भएको छ।

हारजीत

नेपाली कांग्रेसबाट सभापति सुशील कोइराला बांकेबाट विजयी भएका छन् भने चितवनस्थित उनको अर्को चुनावी क्षेत्रको नतिजा आउन बांकी छ।

त्यस्तै नेपाली कांग्रेसबाटै काठमाडौं ४ मा गगन थापा, झापा ३ मा कृष्ण सिटौला र कन्चनपुर ४ बाट रमेश लेखकले जितेका छन्।

पहिलो चुनावमा काठमाडौं र रौतहटबाट पराजित भएका एमाले नेता माधवकुमार नेपाल यसपटक दुवै क्षेत्रबाट विजयी भएको बताइएको छ।

यसअघिको चुनावमा गुल्मी २ मा जितेका एमाले नेता प्रदीप ज्ञवालीलाई कांग्रेसका चन्द्र भण्डारीले पराजित गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर १० मा पराजित एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड उठेको सिरहास्थित क्षेत्रको परिणाम पनि आउन बाँकी छ।

एकीकृत माओवादीका नेता बाबुराम भट्टराई गोरखाबाट विजयी भएका छन् भने रुपन्देहीस्थित उनको अर्को चुनावी क्षेत्रमा अहिलेसम्म तेस्रो स्थानमा देखिएका छन्।