इरानसंगको सम्झौताबाट इजरेललाई सुरक्षा: अमेरिका

  • 25 नोभेम्बर 2013
इरान परमाणु
Image caption इरान आफ्नो युरेनियम प्रशोधनको सीमालाई पाँच प्रतिशतबाट बढ्न नदिन सहमत भएको बताइएको छ

इजरेली प्रधानमन्त्री नेतान्याहुसंगको कुराकानीमा राष्ट्रपति ओबामाले वासिङ्टनले इरानको आणविक आकांक्षाको दिर्घकालीन समाधान खोज्न इजरेलसंग छिट्टै परामर्श थाल्ने बताएका छन्।

त्यसबारे अमेरिकी राष्ट्रपति ओबामाले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसंग टेलिफोन वार्ता गर्दै इजरेलप्रति वासिङ्टनको प्रतिवद्धता दोहोर्‍याए।

अमेरिकी विदेश मन्त्री जन केरीले पछिल्लो सम्झौता इरानसंग थप वार्ताको निम्ति पहिलो पाइला भएको बताए।

इरानको परमाणु कार्यक्रमको विषयमा विश्वका छ शक्तीसंगको वार्तापछि आएको अन्तरिम सम्झौतामा इरानले केहि नाकाबन्दी फुकुवाको बदलामा आफ्नो युरेनियम इनरिचमेन्ट अर्थात् प्रशोधन कार्यक्रमलाई सीमित गर्न राजि भएको थियो।

‘ऐतिहाँसिक भुल’

सो सम्झौतालाई नरुचाएका इजरेली प्रधानमन्त्री नेतान्याहुले त्यसलाई ऐतिहाँसिक भुलको संज्ञा दिए।

त्यसपछि अमेरिकाले आफ्नो मित्र देश इजरेललाई आश्वस्त पार्ने प्रयासलाई तिब्रता दिएको हो।

अमेरिकी विदेश मन्त्री जन केरीले सो अन्तरिम सम्झौताले इजरेललाई सुरक्षित राख्न बाटो खोल्नै बताउँदै त्यो इरानसंग भावि वार्ताको निम्ति पहिलो कदम भएको बताए।

“यो सम्झौता त शुरुवात मात्रै हो, यो पहिलो पाइला हो जस्ले भविष्यमा इरान र हामीबीच थप वार्ताहरुलाई संभव बनाउँछ।”

“हामी वार्ता गर्दै गर्दा, हामीले थप कडा नाकाबन्दीहरुबारे सोच्दै गर्दा, इरानले आफ्नो कार्यक्रमलाई थप बढाउन पाउँदैन त्यस्ले इजरेललाई सुरक्षित राख्नेछ।”

सीमा

जिनेभामा भएको वार्तापछि भएको पछिल्लो सम्झौता ६ महिनासम्मको लागि मात्र हो।

त्यस अनुसार इरानले आफ्नो युरेनियम प्रशोधन कार्यक्रमलाई सीमित तुल्याउने र करिव सात अरब डलर बराबरको नाकावन्दी राहत रकम पाउने भएको छ।

इरान अब आफ्नो युरेनियम प्रशोधनको सीमालाई पाँच प्रतिशतबाट बढ्न नदिन सहमत भएको छ।