इरानको आणविक कार्यक्रम बारे सहमति

  • 24 नोभेम्बर 2013
Image caption दुवै पक्षले सहमतिको आ-आफ्नै अर्थ लगाइ रहेका छन्

आफ्नो आणविक गतिविधिमा केही नियन्त्रण कायम गर्न इरान सहमत भएको छ।

त्यसको बदलामा, जिनिभामा केही दिनदेखि चलेको वार्ताबाट इरानले करिब सात अर्ब डलरको नाकाबन्दी राहत प्राप्त गर्ने भएको छ।

निरिक्षकहरुलाई अझ बढी पहुँच दिन र युरेनियम प्रशोधन सम्बन्धी आफ्नो केही काम बन्द गर्न इरान सहमत भएको छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो सहमतिले इरानलाई आणविक अस्त्र निर्माण गर्नमा रोक लगाउन सहयोग पुग्ने भन्दै स्वागत गरेका छन्।

इरानी राष्ट्रपति हसन रौहानीले सहमतिबाट इरानको आणविक अधिकारले मान्यता पाएको कुरा बताएका छन्।

उनले भने,जे जस्तो अर्थ लगाए पनि यो सहमतिले इरानले आफ्नो प्रशोधन कार्यक्रम जारी राख्‍ने कुरामा जोड दिएको छ।

राष्ट्रब्यापी प्रसारणमा रौहानीले भने,इरानले कहिले पनि आणविक अस्त्रको निर्माण गर्न खोज्ने छैन।

रौहानीको सफलता

नरमपन्थी मानिने रौहानी इरानका राष्ट्रपतिमा निर्वाचित भए पछि यो सहमति भएको हो।

सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पनि त्यसको समर्थन गरेका छन्।

जिनिभामा चार दिनसम्मको वार्ता पछि अमेरिका,बृटेन,रुस,चीन,फ्रान्स र जर्मनी समावेश समूहका प्रतिनिधिहरुसित इरानीहरु सहमतिमा पुगेका हुन्।

तर इजरेली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले आफ्नो मन्त्रीमण्डलमा भनेका छन्, यो एउटा ऐतिहासिक त्रुटी हो।

आफ्नो देशको रक्षा गर्ने अधिकार आफूलाई प्राप्त भएको कुरामा पनि उनले जोड दिएका छन्।