तेहरानमा इरानी वार्ताकारहरुको भब्य स्वागत

  • 25 नोभेम्बर 2013
Image caption यो सहमतिले देशमा शान्ति कायम हुने र अर्थतन्त्रमा पनि सुधार आउने धेरै इरानीहरुले आशा राखेका छन्

इरानमा बिश्व शक्ति राष्ट्रहरुसित आणविक सहमति गरेर फर्किएका वार्ताकारहरुको भब्य स्वागत गरिएको छ।

इरानी विदेशमन्त्री मोहम्मद जभाद जरीफले यो अन्तरिम सहमतिलाई एउटा बृहत आणविक सहमतिमा परिवर्तन गर्न इरानले चाँडै प्रयास थाल्ने कुरा बताएका छन्।

अमेरिका,रुस,चीन,फ्रान्स,बृटेन र जर्मनीसित एउटा अन्तरिम आणविक सहमति गरेर वार्ताकारहरु तेहरान फर्कदा सयौं मानिसहरुले करतल ध्वनीका साथ उनीहरुको स्वागत गरेका थिए।

तेहरानको मेहरावाद विमानस्थलमा इरानी झण्डा र पुष्पगुच्छा बोकेका समर्थकहरुले विदेशमन्त्री जरीफलाई शान्ति दूत भन्दै युद्ध,नाकाबन्दी,आत्मसमर्पण र अपमानको विरोधमा नारा लगाएका थिए।

तेहरानका एक बासिन्दा जेरान्माहेको भनाईमा सबभन्दा ठूलो लाभ हुनेछ शान्ति कायम हुनु। अर्थतन्त्र पनि महत्वपूर्ण छ। भविष्यमा सबै क्षेत्रमा प्रगती होला भन्ने बिश्वास छ।

विमानस्थलमा इरानी सरकारी टेलिभिजनसंग कुरा गर्दै विदेशमन्त्री जरीफले यो सहमतिको सम्मान गर्न इरानआवश्यक कदम चाल्न तैयार रहेको कुरा बताए।

तर चेतावनीको रुपमा उनले भने,हामीले चाल्ने सबै कदमहरु उल्टिन पनि सक्छ, तर त्यसो गर्ने अवस्था नआओस् भनि हामी आशा राखौं।

फ्रेन्च विदेशमन्त्री लराँ फ्याबियसले भने,तेहरानले युरेनियम प्रशोधन कार्य सिमीत तुल्याएको बदलामा युरोपिय संघले चाँडैमा आगामी महिना इरानमाथिका नाकाबन्दी आंशिक रुपमा हटाउन सक्छ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसंग टेलिफोन वार्ता गर्दै इजरेलप्रति वासिङ्टनको प्रतिवद्धता दोहोर्‍याएका छन्।

इजरेल असन्तुष्ट

सो सम्झौतालाई नरुचाएका इजरेली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले त्यसलाई ऐतिहासिक भुलको संज्ञा दिएका छन्।

त्यसपछि अमेरिकाले आफ्नो मित्र देश इजरेललाई आश्वस्त पार्ने प्रयासलाई तिब्रता दिएको हो।

जिनिभामा आइतबार भएको सहमति पछि आज बजारमा तेलको मूल्यमा गिरावट आएको छ।

यो सहमतिबाट इरानलाई अझ बढी तेल बिक्री गर्न बाटो खुल्ने आशामा तेलको मूल्य प्रति ब्यारल दुई डलर भन्दा बढीले झरेको छ।