समानुपातिक तर्फ साना दलको कमजोर प्रदर्शन

  • 25 नोभेम्बर 2013
Image caption प्रारम्भिक परिणाम हेर्दा मतदाताहरुले जातीय/क्षेत्रीय मुद्दा उठाउने दलहरुलाई कम मत दिएको देखिन्छ

समानुपातिक तर्फको निर्वाचनको प्रारम्भिक परिणाममा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।

निर्वाचन आयोगको वेबसाईटमा सोमबार विहान उल्लेख भए अनुसार हालसम्म उसले ६ लाख भन्दा बढि भोट ल्याई सक्दा ६ सय पनि भोट नल्याउने दलहरु भने ३३ वटा छन्।

करीब एक चौथाई मत गणना भइसक्दा चुनावमा भाग लिएका १२२ मध्ये जम्मा १० वटा दलहरुले मात्रै २५ हजार भन्दा बढी भोट ल्याउन सकेका छन्।

अग्रता

असी लाख भन्दा बढी मतदाताले मतदान गरेकोमा झण्डै एक चौथाई मतगणना भईसक्दा चार वटा दलले मात्रै एक लाख भन्दा बढी भोट ल्याएका छन्।

हालसम्म सवा ६ लाख भोट ल्याएर नेकपा एमालेले अग्रता कायमै गरेको छ।

उसको प्रतिस्पर्धीको रुपमा पछ्याउँदै नेपाली कांग्रेसले ६ लाख पुर्‍याउन आँटेको छ भने एकीकृत माओवादीले पौने चार लाख भोट बटुल्न सफल भएको छ।

हाल सम्म चौथो स्थानमा रहेको राप्रपा नेपालले पौने दुई लाख भोट ल्याएको छ।

साना दल

Image caption यसपालीको चुनावमा करीब ७० प्रतिशत मतदाताले भाग लिएको बताइएको छ

निर्वाचन आयोगको वेबसाईटमा उल्लेख पछिल्लो परिणाम अनुसार हाल सम्म १० वटा दलहरुले मात्रै २५ हजार भन्दा बढी भोट ल्याउन सकेका छन्।

यहि अनुपातमा भोट पाउँदै जाने हो भने थप १४ वटा पार्टीले २५ हजारको सिमारेखा पार गर्ने देखिन्छ।

समानुपातिक तर्फका १२२ वटा दलहरु मध्ये एक हजार पनि भोट नल्याउनेमा ६३ वटा दलहरु छन्।

यी मध्ये १६५ भोट ल्याएर नेपाली जनता पार्टी हालसम्म सबैभन्दा पछि परेको छ।

समानुपातिक तर्फ पुरै देशलाई एक निर्वाचन क्षेत्र मानी कुल सदर मतलाई ३३५ ले भाग गर्दा जति संख्या आउँछ, मोटामोटि त्यति भोट ल्याउनेले एक सिट पाउँछ।

यस हिसावले कम्तीमा २२ देखी २५ हजार सम्म भोट ल्याउनेले एउटा सिट सुरक्षित गर्ने देखिन्छ।