एकीकृत माओवादीको माग 'असहज': कांग्रेस, एमाले

  • 26 नोभेम्बर 2013
निर्वाचन
Image caption धाँधली भएको भए संविधानसभा अदालतबाट समाधान खोज्न कानुनविदहरुले सुझाएका छन्।

मंसिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै छानबिन गर्नका लागि आयोग गठन गर्न एकीकृत माओवादीले राखेको माग असहज किसिमको भएको प्रमुख दलका केही नेताहरुले बताएका छन्।

एकीकृत नेकपा माओवादी सहित १० साना दलहरुले संविधानसभाको निर्वाचन अविश्वसनिय, अस्वाभाविक, नियोजित र धाँधलीपूर्ण भएको भन्दै सोमबार उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका थिए।

'हाँस्यास्पद'

निर्वाचनमा धक्का खाएको एकीकृत माओवादी, पहिलो हुनेले जित्ने तर्फ जम्मा दुई सिट जितेको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र एउटा पनि सिट नजितेका अन्य गरी १० वटा दलहरुको सोमबार बसेको बैठकले उच्चस्तरीय छानबिन आयोगको माग राखेको थियो।

यस्तो माग हाँस्यास्पद भएको नेपाली कांग्रेसका नेता रामशरण महतले प्रतिक्रिया दिएका छन्।

उनले भने, "धाँधलीकै कुरा गर्ने हो भने मेरो निर्वाचन क्षेत्रमा बुथ कब्जा समेत भयो। त्यो मामलामा अरुभन्दा एमाओवादी नै अगाडी छ। त्यसैले उहाँहरुको माग हाँस्यास्पद छ। कुन कानुन अन्तर्गत छानबिन आयोग बन्न सक्छ?"

'असहज'

उच्चस्तरीय छानबिन आयोगको मागलाई सहज भन्न नमिल्ने नेकपा एमालेका नेता प्रदिप ज्ञवालीको भनाई छ।

उनले भने, "यसलाई हामीले त्यति सहज रुपमा लिएका छैनौं। केही अनियमितता भएको भए त्यसलाई सल्टाउन संविधानसभा निर्वाचनको निम्ति छुट्टै अदालत पनि स्थापना भइसकेको छ। त्यसो भएको हुनाले छुट्टै छानबिन आयोग आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन।"

संविधानविद बिपिन अधिकारीले पनि छानबिन आयोग बनाउनु भन्दा संविधानसभा अदालतबाटै समाधान खोजिनु पर्ने सुझाएका छन्।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले भने अहिले नै यस विषयमा बोल्नु उचित नहुने भन्दै मन्त्रिपरिषदको बैठक पछि मात्रै औपचारिक प्रतिक्रिया दिने जनाए।