राष्ट्रपतिको पनि चुनाव हुनुपर्छ: गौतम

  • 26 नोभेम्बर 2013
एमाले मुख्यालय
Image caption नयाँ संविधानसभामा राष्ट्रपतिको चुनाव गर्नेबारे एमालेकै नेताहरुबीच एकमत देखिन्न्

हालै सम्पन्न चुनावबाट नेपाली कांग्रेसकै हाराहारीको राजनीतिक शक्तिको रुपमा देखा परेको नेकपा एमालेका एकजना वरिष्ठ नेताले संविधानसभाले नयाँ राष्ट्रपतिको पनि चुनाव गर्नु पर्ने बताएका छन्।

बीबीसीसँग कुरा गर्दै उक्त दलका उपाध्यक्ष बामदेव गौतमले सो भनाइ राखेका हुन्।

तर एमालेकै महासचिव ईश्वर पोख्रेलले राजनीतिक सहमतिमा अप्ठेरो नपर्ने गरी आपसी परामर्शबाट त्यसको टुंगो लगाइनु पर्ने बताएका छन्।

बहस

संविधानसभाको नयाँ चुनावसँगै राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकालबारे बहस शुरु भएको छ।

हालैको ताजा जनमत सरकारको निम्ति मात्र नभई उनीहरुको हकमा पनि लागु हुने एकथरीको तर्क पाइन्छ।

तर अन्तरिम संविधानमा राष्ट्रपतिको कार्यकाल नयाँ संविधान जारी नगर्दासम्म रहने व्यवस्था छ।

एमाले उपाध्यक्ष बामदेव गौतम भने संविधान संशोधन गरेर भएपनि नयाँ राष्ट्रपति चयन गरिनु पर्ने बताउँछन्।

उनले भने, "राष्ट्रपति त हट्नै पर्छ, संविधानसभाको दोश्रो चुनाव परिकल्पना नगरिएकाले पो संविधानमा संविधान जारी हुँदसम्म कार्यकाल हुने भनिएको हो, राष्ट्रपतिको कार्यकाल १० वर्ष पनि हुन्छ कतै? त्यसैले संविधान संशोधन गरेर पनि नयाँ राष्ट्रपतिको चुनाव गर्नुपर्छ।"

रोजाइ

राष्ट्रपति, प्रधानमन्त्री र सभामुख मध्ये एउटा पद सबैभन्दा ठूलो दलले रोज्नु पर्ने नेता गौतमको भनाइ छ।

अघिल्लो संविधानसभामा उसबेलाको तेश्रो ठूलो दल एमालेले सभामुख पाएको थियो।

अहिले तेश्रो स्थानमा देखिएको एकीकृत माओवादी संविधानसभामा गएको खण्डमा सभामुखमा उसको दावी हुनसक्छ।

तर नेता गौतमको तर्क फरक छ, "जातीय राज्य र देश टुक्याउन पाउने आत्मनिर्णयको अधिकारको नारा दिने पराजित भएकाले बहुपहिचान सहित राज्यको पुनर्संरचना गर्ने संविधान लेख्ने काममा बाधा पुग्ने ढंगले राजकीय पदमा भागबण्डा हुनसक्दैन, राष्ट्रपति, प्रधानमन्त्री र सभामुख त्यही विचारको पक्षले नै पाउनु पर्छ।"

फरक विचार

एमालेकै कतिपय अन्य नेताले राष्ट्रपति हटाउनु पर्ने माग पार्टीले नउठाने बताउने गरेका छन्।

पार्टीकै नेताहरुको परस्पर विरोधी त्यस्ता मतहरुका माझ महासचिव ईश्वर पोखरेलको प्रतिकृया थियो, "राजनीतिक दलका नेताहरुबीच परामर्श चलिरहेको छ, संविधानको व्यवस्थालाई पनि ध्यानमा राख्दै र सहमति पनि नबिग्रिने गरी एउटा निष्कर्षमा पुग्नु पर्छ।"

एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले संविधानसभामा आफूहरुको सहभागिता निश्चित भइनसकेको भन्दै प्रतिकृया दिनु हतारो हुने बताए।

उनको भनाइ थियो, "तर हामी सहभागी भयौं भने राष्ट्रपतिको नयाँ चुनाव त हुनैपर्छ।"