जापान र दक्षिण कोरियाद्वारा चीनको हवाई नियमको अवज्ञा

  • 28 नोभेम्बर 2013
Image caption जापानी अधिकारीहरूले उडानहरू कुन बेला गरिएका थिए भन्नेबारे केही खुलाएका छैनन्

अग्रिम जानकारी नदिइकन जापान र दक्षिण कोरियाले चीनले हालै घोषणा गरेको हवाई रक्षा क्षेत्रमा विमानहरू उडाएका ती दुई देशका अधिकारीहरूले बताएका छन्।

जापान सरकारका एक वरिष्ठ प्रवक्ताले जापानी विमानले पूर्वी चीनियाँ समुद्र क्षेत्रमा नियमित अनुगमन सम्बन्धि गतिविधि सन्चालन गरिएको बताए।

तर जापानी अधिकारीहरूले ती उडानहरू कुन बेला गरिएका थिए भन्नेबारे केही खुलाएका छैनन्।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि एउटा उडान गरेको जनाएको छ।

सो देशका विदेशमन्त्री यून ब्यूङसेले चीनको सो घोषणाले उक्त क्षेत्रको पहिले नै जटील स्थितिलाई थप कठिन बनाइदिएको बताएका छन्।

उनले योन्हाप समाचार संस्थासित कुरा गर्दै भने, “यस क्षेत्रका प्रमुख खेलाडीहरू बीचको प्रतिस्पर्धा र द्वन्द्व गहिरिंदै गएको हामीले देखेका छौं।“

शनिबार चीनले सो क्षेत्रमा हवाई प्रतिरक्षा क्षेत्र घोषणा गर्दै त्यहाँ उड्ने विमानहरुले चिनियाँ नियम पालना गर्नु पर्ने बताएको थियो।

उक्त क्षेत्रमा जापान, दक्षिण कोरिया र ताइवानले दावी गरेका भूभागहरू पर्दछन्।

तनाव

ती मध्ये केही टापुहरूको स्वामित्वबारे चीन र जापानबीच हालैका महिनाहरूमा तनाव बढेको छ।

चीनले घोषणा गरेको नयाँ हवाई रक्षाक्षेत्रको नियममा सो ठाउँमा उड्ने कुनै पनि विमानले अग्रिम जानकारी दिनुपर्ने र तीनले दोहोरो रेडियो संवाद गर्नुपर्ने प्रावधान राखिएको छ।

संयुक्त राज्य अमेरिकाले सो कदमलाई उक्त क्षेत्रमा यसअघिको व्यवस्थामा परिवर्तन ल्याउन चीनले अस्थिरता भित्राउन खोजेको आरोप लगाएको छ।

सो विवादित क्षेत्रमा अमेरिकाले बिहीबार आफ्ना उडानहरू गराइसकेको छ।

पेन्टागनका एक प्रवक्ताले बी-५२ नामक ती बमवर्षक विमानहरुले नियमित प्रक्रियाहरु पालना गरेको बताए।तनाव

अमेरीकी विदेश मन्त्रालयकी एक प्रवक्ताले चीनियाँ कदम एक पक्षीय भएको र त्यसबारे अमेरिकी उच्च अधिकारीहरुले चिनलाई जानकारी गराइसकेको बताएकी थिइन्।

चीनले बिहीबार आफ्नो सो कदमको बचाउ गरेको थियो।

चिनीयाँ रक्षामन्त्रालयका एक प्रवकताले सरकारी सन्चार माध्यमलाई सो कदम वैध र तर्कसंगत भएको बताएका थिए।