छानविन आयोग बनाउ: एमाओवादी

  • 28 नोभेम्बर 2013
ec
Image caption निर्वाचन आयोगले चुनावमा धाँधली नभएको बताउँदै आएको छ

चुनावी नतिजामा असन्तुष्ट एकीकृत माओवादीसहितका दलहरुले चुनावमा धाँधली भएको भन्दै छानविन आयोग गठन नभए अदालत वा सडक विकल्पमा रहेको बताएका छन्।

चुनावको धाँधलीबारे छानविन आयोग गठन गर्ने माग सहित निर्वाचन आयोग पुग्दा प्रमुख आयुक्तले बुधबार दलहरुलाई अदालत जान सुझाएपछि उनीहरुको यस्तो प्रतिक्रिया आएको हो।

सडक

तर दलहरुले भने आयोगको सुझावभन्दा पहिला आफूहरु सरकार र चुनावमा ठूला बनेका दलहरुसँग छानविन आयोग गठनकै पहल गर्ने बताएका छन्।

एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीले भने, "पहिला सरकार र राजनीतिक दलहरुलाई नै आयोग बनाउन भन्छौं, त्यो नभए अदालत र अदालत पनि नभए सडकमा जाने विकल्प त छँदै छ।"

चुनावी परिणाममा असन्तुष्ट अर्को दल मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको धाँधली संवैधानिक भन्दा पनि राजनीतिक विषय भएकोले अदालत जाने वा राजनीतिक बाटो समाउने विषय छलफलपछि टुंगो लाग्ने बताए।

छलफल

उनले भने, "चुनावको परिणाम आइसकेपछि छानविन आयोग बनाउने भन्ने कुरा हुँदैन त्यसैले हामीहरु राजनीतिक रुपमा अघि बढ्ने कि संवैधानिक रुपमा अदालत जाने छलफलपछि संयुक्त रुपमा निर्णय गर्छौं।"

चुनावी नतिजामा धाँधली र षडयन्त्र भएको भन्दै हिजो एकीकृत माओवादी अध्यक्ष प्रचण्डसहित १३ असन्तुष्ट दलका नेताहरु उच्चस्तरीय स्वतन्त्र छानविन आयोग गठनको मागसहित निर्वाचन आयोगमा पुगेका थिए।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उनीहरुको माग सम्बोधन निर्वाचन आयोगबाट नहुने भन्दै संविधानसभा अदालत जान सुझाव दिएका थिए।