नयां राष्ट्रपति चुनौं:एमाले अध्यक्ष

  • 29 नोभेम्बर 2013
sushil
Image caption नेपाली कांग्रेसले राष्ट्रपतिको नयां निर्वाचन तत्काल गर्न अस्वीकार गरेको छ

नयां संविधानसभा निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नयां राष्ट्रपति चयन गर्नु उपयुक्त हुने बताएका छन्।

पहिलो शक्ति बनेको नेपाली कांग्रेसका नेताहरुले वर्तमान राष्ट्रपतिलाई नै निरन्तरता दिनुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला खनालको यस्तो भनाइ आएको हो।

ताजा जनादेश

शुक्रबार बिहान बीबीसीसंग कुरा गर्दै उनले वर्तमान राष्ट्रपतिलाई नै निरन्तरता दिने भए नयां खालको समझदारी आवश्यक पर्ने टिप्पणी गरे।

बिहीबार कांग्रेस सभापति सुशील कोइरालासंग भेटेका उनले त्यस्तो समझदारीबारे प्रष्ट नखुलाएपनि एमालेका अन्य प्रमुख नेताहरुले वर्तमान राष्ट्रपति कांग्रेसको उम्मेदवारका रुपमा चयन भएकाले प्रधानमन्त्री पद, कांग्रेस हाराहारीकै शक्ति भएकाले एमालेले पाउनुपर्ने धारणा राख्दै आएका छन्।

उनले भने, "राष्ट्रपति रहने वा नरहने भन्ने कुरालाई लिएर एकखालको समझदारी बन्नुपर्छ।"

मतभेद

राष्ट्रपतिको निरन्तरतालाई लिएर संविधानविद्हरु पनि बांडिएको देखिएको छ।

एकथरीले नयां संविधान नबनिञ्जेलसम्मका लागि अहिलेकै राष्ट्रपति रहने व्यवस्था अन्तरिम संविधानमा रहेको उल्लेख गरेका छन्।

अर्काथरीले भने अहिलेका राष्ट्रपतिलाई चयन गर्ने वैधानिक निकाय अब नरहेको र त्यसको स्थानमा नयां चुनिएकाले राष्ट्रपति पनि नयां चयन गर्नुपर्ने तर्क गरेका छन्।

यीनै खालका परस्पर विरोधी धारणाबीच नयां सरकार निर्माण प्रक्रिया लम्बिने संकेतहरु देखिएका छन्।