सिरीयाको रासायनिक अस्त्र ब्यवस्थापन प्रक्रिया

  • 30 नोभेम्बर 2013
Image caption सिरीयाको रासायनिक अस्त्रको ब्यवस्थापन योजना मुताविक अघि बढी रहेको बताइन्छ

सिरीयाको रासायनिक अस्त्र नष्ट पार्ने जिम्मेवारी पाएको निकायले केही रासायनिक अस्त्रलाई एउटा अमेरिकी नौसैनिक जहाजमा तटस्थ तुल्याइने कुरा बताएको छ।

रासायनिक अस्त्र निशेध गर्ने संगठन ओपीसीडब्लूले भनेको छ, त्यसका लागि अमेरिकाले प्रविधि र आर्थिक सहयोग उपलब्ध गराउँदैछ।

हाइड्रोलाइसिस नामक प्रक्रियाको प्रयोग गरेर सुरक्षित स्तरमा ल्याउन ती रसायनहरुलाई घोलिनेछ।

ओपीसीडब्लूको भनाइमा सिरीयाको बाँकी रासायनिक भण्डार नष्ट गर्न ३५ वटा फर्मले इच्छा ब्यक्त गरेका थिए।

उनीहरुको योग्यता र क्षमताको मूल्याङकन हुँदैछ।

उक्त कार्य सम्पन्न हुने अमेरिकी नौसैनिक जहाजको नाम आधिकारीक रुपमा बताइएको छैन।

तर त्यो एमभी केप रे हो भन्ने बिश्वास रहेको छ।

ओपीसीडब्लूले भनेको छ, यो कार्य डिसेम्बर ३१ मा सम्पन्न हुनु पर्छ।

दह्रो संकेत

बीबीसीका एक जना मध्य पूर्व संपादकको भनाईमा अनेक कठिनाई हुँदा हुँदै पनि आगामी बर्षको आधाआधीसम्ममा सिरीयाका सबै रासायनिक अस्त्र भण्डार र क्षमता नष्ट गर्न दिइएको समयतालीका मुताविक काम सम्पन्न हुने यो अर्को दह्रो संकेत हो।

हाइड्रोलाइसिस प्रक्रियाले लाखौं लिटर एफ्लुएन्ट उत्पादन गर्नेछ।

ओपीसीडब्लूको भनाइमा त्यसलाई चार हजार कन्टेनरमा भण्डार गरिनेछ।

त्यो धेरै जसो उद्योगबाट निस्कने सामान्य रसायन भन्दा पनि कम विशाक्त हुनेछ।

तर त्यसको पनि ब्यवस्थित रुपमा बन्दोवस्त गर्न इच्छुक राष्ट्रहरुको खोजी गर्नु पर्नेछ।