चीनको महत्वपूर्ण चन्द्र अभियान सुरु

  • 2 डिसेम्बर 2013
rover
Image caption यो रोभरलाई अहिलेसम्मकै परिस्कृत भनिएको छ

चीनले चन्द्रमामा अनुसन्धानका लागि आफ्नो पहिलो रोभर अभियान सफलतापूर्वक शुरु गरेको छ।

चन्द्रमाको सतहमा घुम्न सक्ने स्वचालित साधन रोभर पठाउने मुलुकको सूचीमा अमेरिका र पूर्व सोभियत संघपछि अब चीन पनि आएको छ।

परिस्कृत

उक्त रोभर, चांग इ थ्री रकेटबाट नेपाली समयअनुसार हिजो राति सवा ११ बजे दक्षिणी चीनको जीचांगबाट प्रच्छेपण गरिएको थियो।

अमेरिका र पूर्व सोभियत संघपछि चन्द्रमामा थालिएको त्यस्तो अभियान तेस्रो भएपनि पछिल्लो चिनियां अभियानलाई अत्यन्तै परिस्कृत भनिएको छ।

रोभर लिएर जाने साधन पेलोड यतिसम्म परिस्कृत छ कि त्यो चन्द्रमाको भित्रीसतहभित्रका वस्तु पत्ता लगाउने खालको राडार हो र साथै त्यसले चन्द्रमाको माटो र माथिल्लो सतहको तथ्यांक पनि संकलन गर्न सक्नेछ।

किम्बदन्ती

उक्त रोभरलाई चन्द्रमाको उत्तरी गोलार्धमा मध्य डिसेम्बरसम्म उतार्ने लक्ष्य लिइएको छ।

चन्द्रमामा खरायो रहेको चिनियां किम्बदन्तीसंग मिल्ने गरी युतु अर्थात् जेड रयाबिट नाम दिइएको उक्त रोभर १२० किलोको छ र त्यसले ३० डिग्रीको उचाइ चढ्न सक्नुका साथै एक घण्टामा २०० मिटर दूरी तय गर्न सक्छ।

यसैबीच भारतको महत्वाकांक्षी मंगलयानले ३ सय दिनको यात्राका लागि पृथ्वीको कक्ष छाडेको छ।