युक्रेनमा चर्को सरकार विराधी प्रदर्शन

  • 2 डिसेम्बर 2013
Image caption युक्रेनमा बिपक्षी नेताहरुले थप सडक प्रदर्शनका लागि आह्वान गरेका छन्

युक्रेनको राजधानी कियेभमा प्रदर्शनकारीहरुले सरकारी भवनहरुमा अवरोध सृजना गरी रहेका छन्।

उनीहरुले सरकारको राजीनामाको माग गर्दै आफ्नो अभियान चर्काउँदै लगेका छन्।

केही प्रदर्शनकारीहरुले इन्डिपेन्डेन्ट स्क्वेरमा छेकवारहरु खडा गरेका छन् भने केही नगर परिषद हलमा अखाडा जमाएर बसेका छन्।

गत महिना राष्ट्रपति भिक्टर यानुकोभिचले युरोपिय संघसित अझ निकट सम्बन्ध बारेको सहमतिमा हस्ताक्षर गर्न अस्वीकार गरे पछि यो अशान्ती मच्चिएको हो।

बिपक्षी नेताहरुले राष्ट्रब्यापी हडताल र थप सडक प्रदर्शनका लागि आह्वान गरेका छन्।

राती सयौं मानिसहरुले इन्डिपेन्डेन्ट स्क्वेरमा पाल टाँगेर अखाडा जमाएका थिए।

सरकारी कर्मचारीहरु काममा जान सकेका छैनन्।

हजारौं प्रदर्शनकारीहरु भेला भैरहँदा उनीहरुले ‘गिरोहलाई हटाउ’ भन्ने नारा लगाएका थिए।

-यालीहरु माथि लगाइएको प्रतिबन्धलाई मानिसहरुले अवज्ञा गरेका छन्।

विश्वासको संकट

प्रदर्शनका एक जना आयोजक बक्सिङ च्याम्पियन भिटाली क्लित्स्कोको भनाईमा यो तानाशाही सरकार भएकोले मानिसहरुले यसलाई बिश्वास गर्न छोडी सके।

बिपक्ष‌ि फादरल्याण्ड पार्टीका नेता आर्सेनी यात्सेनुकले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको कुरा बताएका छन्।

युरोपिय संघले युक्रेनको अर्थतन्त्रलाई पर्याप्त आर्थिक सहायता प्रस्ताव नगरेकोले सहमतिमा हस्ताक्षर गर्न अस्विकार गरेको कुरा राष्ट्रपति भिक्टर यानुकोभिचले बताउँदै आएका छन्।

उनको तर्क छ,रुसले यो सहमतिको विरोध गरी राखेको छ र युक्रेन रुससितको ब्यापारलाई बलि चढाउन सक्दैन।