हिमालमा गरिबी

  • 3 डिसेम्बर 2013
हिमाल
Image caption हिमाली क्षेत्रका बासिन्दा हावापानी परिवर्तनले ल्याएका गम्भीर समस्या झेल्न वाध्य छन्

पर्वतीय क्षेत्रमा रहेको गरिबी निवारण गर्नाका निम्ति विशिष्ट योजनाको खाँचो रहेको योजनाकारहरुले काठमाण्डौंमा भएको एक अन्तर्राष्ट्रिय गोष्ठीमा औंल्याएका छन्।

लामो समयसम्म राज्यको विकास कार्यक्रम समथर भूभागमा केन्द्रीत भएकाले पहाडी तथा हिमाली क्षेत्रका जनताहरु चरम गरिबीको समस्याबाट गुज्रिनु परेको पर्वतीय क्षेत्रका योजनाकार तथा वातावरणविद्हरुले बताएका छन्।

एकातिर हावापानी परिवर्तनको प्रभाव बढ्दै गएको र अर्कोतिर लामो समयदेखी यस क्षेत्रका जनताले विकासका मामिलामा राज्यबाटै विभेद सहनुपरेकाले पर्वतीय क्षेत्रमा गरिबी निवारण तथा दिगो विकास अबको प्रमुख मुद्दा हुनुपर्नेमा उनीहरुले जोड दिएका छन्।

पर्वतीय चासो

१९ देशका दुई सय भन्दा बढी योजनाकार तथा वैज्ञानिकहरु सहभागी रहेको राष्ट्रिय योजना आयोग र अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र इसिमोडले आयोजना गरेको उक्त सम्मेलनमा बोल्दै राष्ट्रपति रामबरण यादवले हिमाली सम्पदा विश्वकै साझा सम्पति भएकोले सबै मिलेर ती क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताए।

“नेपाल सरकार पूर्ण रुपमा सचेत छ कि हिमालहरु विश्वव्यापी साझा सम्पत्ति हुन। हिमाली वातावरण र विकासका मुद्दा अन्तराष्ट्रीय प्रकृतिका हुन्छन् र कुनै एक देशले यस सम्वधी समस्या एक्लै समाधान गर्न नसक्ने हुनाले यसका लागि क्षेत्रीय साझेदारी र अन्तराष्ट्रीय सहयोग आवश्यक छ,” राष्ट्रपति यादवको भनाई।

पश्चिममा अफगानिस्तान देखि पूर्वमा म्यानमारसम्म फैलिएको ३५ सय किलोमिटर लामो हिमश्रृंखला, हिन्दुकुश हिमालय क्षेत्रभित्र चीन लगायत दक्षिण एसियाका राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, भुटान र म्यानमार पर्दछ।

एक अध्ययन अनुसार यी राष्ट्रहरुमा पर्वतीय क्षेत्रको गरिबीको दर समग्र देश औसतभन्दा ५ प्रतिशतले बढी छ भने विकासका हिसावले पनि यस क्षेत्रका मानिसहरु पछाडि पारिएका छन्।

दिगो विकास लक्ष्य

सन् २०१५ मा राष्ट्रसंघीय सहस्राव्दी लक्ष्यको समीक्षा हुने र त्यसपछिको विकास लक्ष्य निर्धारण गर्दा पर्वतीय क्षेत्रको गरिबी निवारण प्रमुख मुद्दाको रुपमा राख्नुपर्ने विज्ञहरुले बताएका छन्।

समाजशास्त्री गणेश गुरुङ्ग भन्छन्, “पर्वतीय क्षेत्रमा कठिन किसिमका हावापानी छन्। त्यस्तो कठिन अवस्थामा बाँच्नेहरुका आय वृद्धिको सम्भावना खोज्नु आवश्यक छ।”

विज्ञहरुले प्राकृतिक स्रोतसाधनको प्रयोगमा भएको असमानताका कारण पर्वतीय क्षेत्रमा मानिसहरु पीडित भएको र त्यसका कारण गरिबीको समस्या बढेको बताए।

भारतका ग्रामिण विकास सम्वन्धी विज्ञ फ्राड्ड रायले भने, “हिमालय क्षेत्रको एउटा प्रमुख समस्या भनेको समुदाय भित्रै र समुदाय समुदाय विच नै स्रोतमा पहुँचको असमानता हो। हामीले यस्तो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। असमानताले कम प्रभावकारी र कम उत्पादक अर्थतन्त्र सृजना गर्छ। हामीले यसबाट पार पाउने उपायहरु खोज्नुपर्छ ताकी मानिसहरुले आफ्नो जीविकोपार्जनमा सुधार गर्न सकुन्।”

योजनाका धेरै कुरा भनिए र लेखिएपनि कार्यान्वयनमा धेरै समस्या रहेकाले कुरा संगसंगै काम नगर्ने हो भने पर्वतीय क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्ने कुरा कागतमै सीमित रहन सक्ने सहभागीहरुले बताएका छन्।