भरोसाको छक्का

  • 3 डिसेम्बर 2013
शरद भेषवाकर
Image caption तनावपूर्ण अन्तिम ओभरहरुमा रन बटुलेर शरदले चर्चा बटुलेका छन्

नेपाल २० ओभरको विश्वकप क्रिकेटमा छनोट हुंदा टोलीका एक खेलाडी शरद भेषावकरको खुबै चर्चा भएको छ।

केन्या विरुद्धको खेलको अन्तिम ओभरमा ३ छक्का प्रहार गर्दै नेपाललाई विजय दिलाएका शरद भेषावकरले हंगकंग विरुद्ध अन्तिम बलमा विजयी रन जोडेपछि, उनले म्याच फिनिसर अर्थात खेल जिताउने खेलाडीको उपमा पाए।

नेपाललाई तेस्रो बनाउने बेलामा पनि उनैले अन्तिम ओभरमा लगातार दुई छक्का हानेका थिए।

यी उनै क्रिकेटर हुन् जसले नेपालको नागरिकता पाउन लामो समय संघर्ष गर्नु परेको थियो।

विजयी रन

हंगकंग विरुद्धको विश्वकप क्रिकेट छनोट खेल हेर्ने दर्शकहरुले शरद भेषावकरको ब्याटिङलाई बिर्सन गाह्रै हुन्छ।

अन्तिम ओभरको अन्तिम बलमा एक रन जोडे नेपाल विश्वकपको लागि छनोट हुने बेला शरदले सो विजयी रन बटुलेका थिए।

सारा नेपालीको मन ढक्क फुलेको त्यो बखत शरदको मनमा चाहीं के खेलिरहेको थियो होला?

“त्यो एक बलमा मेरो बच्चैदेखिको अनि सबैको सपना पूरा भएको जस्तो अनुभव गरें,” शरदले बताए।

प्राविधिक ब्याट्सम्यान

नेपाली क्रिकेटमा एक स्थापित नाम बनिसकेका शरद, नेपालका थोरै राम्रा प्राविधिक ब्याट्सम्यानमध्ये एक मानिन्छन्।

त्यसको सबैभन्दा जोडदार प्रदर्शन उनले विश्वकप छनोटमा प्रस्तुत गरे।

केन्या विरुद्धको समूह चरणमा उनले अन्तिम ओभरमा ३ छक्का सहित २२ रन जोडे।

अनि नेपाल फर्किनु अगाडी युएईलाई हराउन अन्तिम ओभरमा लगातार २ छक्का ठोके।

निडर

१८ वर्ष अगाडि काठमाडौंको एभरेष्ट क्रिकेट कोचिङ एकेडेमीमा सात वर्षका एक केटा भर्ना हुन आए।

ती कलिला खेलाडी त्यतिबेलाका जल्दावल्दा किरण राणा, राजु बस्नेत जस्ता खेलाडीको बल खेल्न डराउँदैनथे।

चांडै नै उनी सबैको आँखामा परे।

Image caption बुबा भारतीय भएकाले लामो समयसम्म शरदले नेपाली नागरिकता पाएका थिएनन्

सन् २००२ मा उनले पहिलो पटक १५ वर्ष मुनिको राष्ट्रिय टोलीमा प्रवेश पाए।

त्यहाँ उत्कृष्ट खेल पस्केपछि श्रीलंका जाने ड्रिम टिममा परे।

तर उक्त खुशीको खवर उनले आफ्ना बुबालाई सुनाउन पाएनन्। ह्रृदयघातका कारण उनको बुबाको निधन भएको थियो।

त्यसपछि उनको क्रिकेट जीवनको आरोह अवरोह शुरु भयो।

शुरु देखिनै शरदको खेल नियाल्दै आएका पूर्व राष्ट्रिय खेलाडी राजु बस्नेत उनलाई एक निडर ब्याट्सम्यानको रुपमा सम्झन्छन्।

“उसले जहिलेपनि जित्नकै लागि खेल्छ। खेलमा निडर छ,” बस्नेतले भने।

नागरिकता

शरदको खेल र उनले नेपालको नागरिकता नपाएको प्रसंग भने क्रिकेटमा संधै जोडिएर आए।

उनका बुबा भारतीय नागरिक भएकाले नेपालमा स्थायी बास गरेपनि उनले नागरिकता भने पाउन सकेका थिएनन्।

सन् २००२ मा उनले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जांदा बनाएको नाबालिग पासपोर्ट नै उनी राष्ट्रिय जर्सी लगाउन पाउने योग्यताको एक मात्र कारण बनेको थियो।

धेरै वर्ष उनी नागरिकता बनाउने चक्करमा रुमल्लिईनै रहे।

त्यसकै दबाबले होला शायद राष्ट्रिय टिममा राम्रो खेल्न नसक्दा उनी बीचमा टोलीबाट समेत फ्याँकिएका थिए।

तर उनी टोलीमा फेरि फर्किए।

यसपाली पनि युएई जानु पूर्व नयाँ पासपोर्टको आवश्यकता भएकोले त्यहाँ जानु केही हप्ता अगाडीमात्र उनले नागरिकता पाएका थिए।

त्यतिबेला उनले अब झन आत्मविश्वासपूर्ण खेल्ने बताएका थिए।

“नभएको त होइन तर अब म अझ पूर्ण क्षमताकासाथ खेल्न सक्छु होला जस्तो लागेको छ,” नागरिकता पाएपछि बीबीसीलाई प्रतिक्रिया दिंदै उनले भनेका थिए।

उनले ठयाक्कै त्यस्तै गरेर देखाइदिए।

संयोग

भेषावकरको जन्म भने युएईमा भएको थियो। युएईसंगको क्रिकेटमा उनको अनौठो संयोग जोडिइनै रहेको छ।

उनले पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा युएईमा खेलेका थिए। राष्ट्रिय टोलीमा परेपछिको उनको पहिलो खेल पनि युएई विरुद्ध नै थियो। र, अहिले विश्वकप छनोट हुंदा पनि युएइकै मैदानमा उनले खेल्न पर्‍यो।

शरद अहिले २५ वर्षका भए।

धेरैको विश्वास छ, अन्तर्राष्ट्रिय क्रिकेटतिर अगाडि बढेको नेपालको यात्रामा उनले अझै धेरै कथाहरु बुन्नेछन्।