'असदविरुद्ध युद्धअपराधका प्रमाण'

  • 3 डिसेम्बर 2013
asad
Image caption बसर अल असदले आफूमाथि लागेका मानवअधिकार उल्लंघनका आरोप अस्वीकार गर्दै आएका छन्

राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नाभी पिल्लेले भनेकी छन्, राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले संकलन गरेको प्रमाणले सिरियामा युद्ध अपराध र मानवताविरोधी अपराधमा राष्ट्रपति बसर अल असद र उनका निकट सहयोगीहरु संलग्न रहेको देखाएको छ।

सिरियाली अधिकारीहरुले भने त्यस्ता आरोपहरु अनर्गल भएको भन्दै अस्वीकार गरेका छन्।

पहिलोपटक

उक्त राष्ट्रसंघीय निकायले मानवअधिकार हननसम्बन्धी मामिलामा सिरियाका राष्ट्रपतिलाई प्रत्यक्ष रुपमा तानेको यो पहिलो घटना हो।

सरकारी पक्षमात्रै नभइ विद्रोहीहरुबाट पनि विश्वास नै गर्न नसकिने स्तरको मानवअधिकार उल्लंघनका घटना भएको पिल्लेले उल्लेख गरेकी छन्।

अदालत

उनले सिरियाली मामिलालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा लैजान राष्ट्रसंघीय सुरक्षा परिषद्लाई बारम्बार आग्रह गर्दै आएकी छन्।

तर त्यस्तो सम्भावनाबारे बीबीसी संवाददाता इमोजेन फउक्स् भन्छिन्, ‘त्यस्तो कदम लिन नाभी पिल्लेले सुरक्षा परिषद्लाई भन्दै आएकी हुन् तर हामी नबिर्सौ कि प्रत्येक सदस्यसंग भिटो छ र विगतमा चीन र रुसले त्यस्ता कदमविरुद्ध भिटो प्रयोग गरेका थिए। यो कुरामा नाभी पिल्लेले आफ्नो बेचैनी देखाएको हुनसक्छ’।

सिरियाली अधिकारीहरुले भने पिल्लेका भनाइहरुको कुनै अर्थ नरहेको भन्दै आरोपहरु अस्वीकार गरेका छन्।