हेजबोल्लाहलका वरिष्ठ कमाण्डरको ‘हत्या’

  • 4 डिसेम्बर 2013
Image caption इजरेलसितको लडाईंमा लक्किसका छोराहरू मारिएका हेजबोल्लाहले बताएको थियो

लेब्ननी उग्रवादी समुह, हेजबोल्लाहले आफ्नो एक कमाण्डर बेइरूतको बाहिरी भागमा मारिएको जनाएको छ।

उक्त समुहको टिभी च्यानल, अल मनरका अनुसार हस्सन लक्किसको हत्या हदातस्थित उनको घर नजिकै गरिएको थियो।

हेजबुल्लाहले इजरेलमाथि दोष लगाएको छ तर इजरेली अधिकारीहरूले त्यसको खण्डन गरेका छन्।

लक्किसबारे सार्वजनिक रूपमा खासै जानकारी छैन तर उनी हेजबोल्लाहका नेता हस्सन नसरल्लाहसित निकट रहेको बताइन्थ्यो।

उनी हतियार बनाउने विज्ञका रूपमा पनि चिनिन्थे।

बेइरूतस्थित इरानी राजदूतावासबाहिर गत महिना भएको बम विष्फोटनमा साउदी अरबको हात रहेको आरोप नसरल्लाहले लगाएको एक दिनपछि लक्किस मारिएका खबर आएको छ।

इरान हेजबोल्लाहको प्रमुख समर्थक रहँदै आएको छ।

सो देशले सिरियाली राष्ट्रपती बशर अल अस्सदलाई विद्रोहीहरूसित लड्न सघाउन लडाकूहरू त्यहाँ पठाएको छ।

साम्प्रदायिक तनाव

सिरियाको द्वन्द्वले उसका स्याना छिमेकी देशहरूमा साम्प्रदायिक तनाव चर्काइदिएको छ।

यद्यपि बेइरूतस्थित बीबीसी संवाददाता जिम मूइर भन्छन्, “सिरियामा हेजबोल्लाहको भूमिकाले आक्रोशित बनेका सुन्नी उग्रवादीहरूले लक्किसलाई मारे भन्ने आरोपमा त्यती बल देखिंदैन।“

लेब्ननका सुरक्षा अधिकारीहरूले लक्किसमाथि गोली प्रहार गर्न आक्रमणकारीहरू कुरेर बसेका बताएका छन्।

सो आक्रमणपछि उनलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यू भएको थियो।

हेजबोल्लाहले इजरेललाई दोष दिंदै विगतमा पनि सो देशले लक्किसलाई मार्न खोजेको बताएको छ।

तर इजरेलको विदेश मन्त्रालयका प्रवक्ता यिगाल पाल्मोरले भने, “यस्तो आरोप लगाउने हेजबोल्लाहको पुरानो बानी हो, उनीहरूलाई कुनै प्रमाण वा तथ्य चाहिंदैन।

“उनीहरू जे कुरामा पनि इजरेललाई दोष लगाउँछन्।“

सन् २००६ मा हेजबोल्लाहले इजरेलसित ३४ दिनसम्म विध्वंसात्मक युद्ध लडेको थियो।

सो लडाईंमा लक्किसका छोराहरू मारिएका सो उग्रवादी समुहले त्यसबेला बताएको थियो।