संविधानसभा अदालतमा अहिलेसम्म ४ मुद्दा

  • 5 डिसेम्बर 2013
SC
Image caption निर्वाचनमा भएका कसूरबारे छानबिन गर्न संविधानसभा अदालत गठन गरिएको हो

संविधानसभा निर्वाचन सम्बन्धी उजुरी सुनुवाई गर्ने संविधानसभा अदालतमा अहिलेसम्म ४ वटा मुद्दा दर्ता भईसकेको छ भने केही दर्ता हुने प्रकृयामा छन्।

संविधानसभा सदस्यको योग्यता, निर्वाचन बदर र निर्वाचनसम्बन्धी कसूरका विषयमा सुनुवाई गर्ने अदालतमा अहिलेसम्म बुथ कब्जा र मतगणनाका बेला भएका भनिएका धाँधलीका उजुरी परेका छन्।

उजुरी

ती मुद्दामा अन्तरकालीन आदेश माग गरिएको संविधानसभा अदालतका रजिष्ट्रार नहकुल सुवेदीले बताए।

उनले भने, "संविधानसभा सदस्य पदमा निर्वाचित भईसकेकोले सदस्य शपथ नगराइयोस, कार्यभार सम्हाल्न नदिइयोस् र बैठकमा सहभागी हुन नदिइयोस् भन्ने लगायतको अन्तरकालीन आदेश माग गरिएको छ।"

मुद्दामा विपक्षीहरुसँग लिखित जवाफ माग गर्ने प्रारम्भिक काम शुरु भइसकेको उनले बताए।

सुनुवाई

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारविरुद्ध किर्ते गरी चुनाव जितेको दाबी गर्दै परेको मुद्दामा बिहीबार अदालतमा सुनुवाई हुँदै छ।

त्यस्तै एकीकृत माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सिराहा क्षेत्र नं ५ मा बुथ कब्जा गरेर चुनाव जितेको भन्ने मुद्दा शुक्रबार सुनुवाईका लागि पेशी तोकिएको छ।

यसरी सुनुवाईका लागि पेशी चढिसकेको मुद्दा टुंगो लाग्न अन्य मुद्दाजस्तो वर्षौं नलाग्ने सुवेदीले बताए, "२०६४ सालमा हामीले ३/४ महिनाभित्र परेका अधिकांश मुद्दा टुंग्याएको हो। त्यसैले मलाई लाग्छ प्राविधिक कुनै कठिनाई नआए, हामी ३ महिनामा टुंग्याउँछौं।"

२०६४ सालको संविधानसभा चुनावपछि अदालतमा १८ वटा मुद्दा दर्ता भएका थिए।

त्यसमध्ये जेपी गुप्ताविरुद्ध परेको बाहेक सबै मुद्दा समयमै टुंगिएको उनले बताए।

गुप्ताविरुद्ध परेको मुद्दा सुनुवाई गर्ने न्यायाधीशहरुले अवकाश पाएपछि उनको मुद्दा विचाराधीन नै रहेको थियो ।

यसपटक सर्वोच्चका तीन न्यायाधीहरु कल्याण श्रेष्ठ, सुशिला कार्की र गिरीशचन्द्र लाल संविधानसभा अदालतका लागि तोकिएका छन्।

व्यापक धाँधली भएको भनी सार्वजनिक आक्रोश पोख्दै आएको एकीकृत माओवादीले संविधानसभा अदालतमा भने कुनै उजुरी हालेको छैन।