नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा निधन

  • 6 डिसेम्बर 2013
मण्डेला
Image caption दक्षिण अफ्रिकिहरु मण्डेलालाई आफ्नै अभिभावक समान ठान्छन्

नेल्सन मण्डेलाको निधन भएको घोषणा भएको छ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ९५ वर्षका भएका थिए।

उनको निधन घरपरिवारसंगै जोहान्नेसबर्गस्थित आफ्नै घरमा भएको थियो।

उनको निधनको घोषणा दक्षिण अफ्रिकि राष्ट्रपति ज्याकब जुमाले गरेका थिए।

“मेरा दक्षिण अफ्रिकि जनताहरु। हाम्रा प्रिय नेल्सन होलिसासा मण्डेला हाम्रो प्रजातान्त्रिक देशका संस्थापक राष्ट्रपतिले हामीलाई छाडेर गएका छन्। आफ्नै परिवारका माझ उनको निधन भएको छ,” राष्ट्रपति जुमाले मण्डेलाको निधनको घोषणा गर्दै भने।

महान छोरा

दक्षिण अफ्रिकाले आफ्नो सबैभन्दा महान छोरा गुमाएको उनले बताए।

उनले मण्डेलाको राजकीय अन्त्येष्टि नसकिउञ्जेल दक्षिण अफ्रिकी झण्डा आधा झुकाइने बताए।

मण्डेलालाई श्रद्धात्र्जली प्रकट गर्नाका निम्ति जोहानेसबर्गको हाउटन क्षेत्रस्थित उनको निवास सामु ठूलो भींड जम्मा भएको छ।

कतिपयले रंगभेद विरोधी आन्दोलनताका गाइने गीत गाएका छन्।

कतिले आफ्ना छोराछोरीलाई पनि ल्याएका छन्।

Image caption यस वर्षको शुरुदेखिनै मण्डेला निकै बिरामी परेका थिए। कैयौं दिन उनी अस्पतालमा भर्ना भएका थिए

त्यहाँ रहेका बीबीसी सम्वाददाताका अनुसार भींडमा गोरा काला सबैले उनको निधनमा गहिरो दुख प्रकट गरेका छन्।

उनलाई दक्षिण अफ्रिकिहरुले आफ्नै अभिभावकको रुपमा सम्झन्छन्।

“मलाई मेरै शरिरको कुनै अंगले छाडेर गएको जस्तो अनुभव भएको छ,” एक जना युवाले भने।

“हुन त यो दिन आउँछ भन्ने हामीलाई थाहा थियो। तरपनि यो एकदमै कठिन घडी हो। किनकि त्यो व्यक्ति हाम्रो आफ्नै बाबुसमान थियो। हाम्रो नायक थियो,” अर्का युवाको भनाई थियो।

राजनेता

नेल्सन मण्डेलाको जीवन दक्षिण अफ्रिकाको ग्रामीण ट्रान्सभालमा शुरु भएको थियो।

त्यतिखेर दक्षिण अफ्रिकामा अश्वेत विद्यार्थीलाई पढाउने एउटै मात्र विश्वविद्यालयबाट उनले वकिलको शिक्षा लिए।

त्यसपछि रंगभेदवादी सरकारको शसक्त विरोधमा उत्रिएको अफ्रिकन न्यासनल कंग्रेससंग उनी आबद्ध भए।

उनको गतिविधिबाट रुष्ट सरकारले उनलाई आजीवन कारावासको सजाय दियो।

२७ वर्षको जेल जीवनपछि उनी सन् १९९० मा मुक्त भए।

चार वर्षपछि दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपतिमा उनी निर्वाचित भए।

Image caption अमेरिकि राष्ट्रपतिले मण्डेलालाई आफ्नो प्रेरणाको स्रोत मानेका छन्

पाँच वर्षको एउटा कार्यकालपछि उनले पद सम्हालेनन्। तर अन्तर्राष्ट्रिय जगतमै उनको उँचो व्यक्तित्व कायम रह्यो।

विश्व नेताहरुको प्रतिक्रिया

उनको निधनप्रति विश्व नेताहरुले गहिरो दुख प्रकट गरेका छन्।

अमेरिकि राष्ट्रपति ओबामाले उनले कुनै पनि मानिसले आफ्नो जीवनमा गर्नसक्ने भन्दा धेरै हासिल गरेको प्रतिक्रिया दिएका छन्।

मण्डेलाले प्रस्तुत गरेको उदाहरण विना आफ्नो जीवन सोच्न समेत नसक्ने ओबामाले बताए।

त्यस्तै राष्ट्रसंघका महासचिव बान कि मुनले उनलाई न्यायका निम्ति लड्ने प्रखर व्यक्तिको रुपमा सम्झना गरे।

“उनको निस्वार्थ संघर्षले विश्व भर कैयौंलाई प्रभावित पारेको थियो,” मुनले बताए।

मण्डेलाको जीवनका महत्वपूर्ण तिथिमिति

सन् १९१८ इस्टर्न केपमा जन्म

सन् १९४३ अफ्रिकन नेशनल कंग्रेससंग आबद्धता

सन् १९५६ देशद्रोहको आरोप, तर चारवर्षको मुद्दापछि आरोप फिर्ता

सन् १९६२ पक्राउ, जनता भड्काएको तथा विना पासपोर्ट देश बाहिर जान लागेकोमा दोषी करार, पाँचवर्षको जेल सजाय

सन् १९६४ ध्वंस गरेको आरोप, आजीवन कारावासको सजाय

सन् १९९० जेलबाट मुक्त

सन् १९९३ नोबेल पुरस्कारद्वारा सम्मानित

सन् १९९४ पहिलो अश्वेत राष्ट्रपतिको रुपमा निर्वाचित

सन् १९९९ नेतृत्व त्याग

सन् २००४ सार्वजनिक जीवनबाट अवकाश

सन् २०१३ निधन