यमनको रक्षा मन्त्रालयमा भीषण आक्रमण

  • 5 डिसेम्बर 2013
Image caption अधिकारीहरूमाथि गोली प्रहार गर्ने क्रम बढेपछि, गत केही हप्तादेखि सुरक्षा स्थिति मजबुत बनाइएको थियो

यमनको रक्षा मन्त्रालयमा भएका श्रृङ्खलाबद्ध आक्रमणहरूमा २९ जना मारिएका छन् र ७० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्।

राजधानी सनाको बाब अल यमन जिल्लामा रहेको सो सरकारी भवनको प्रवेशद्वारमा एक आत्मघाती कारबम विष्फोट भएपछि उक्त परिसरमा रहेको एक अस्पतालभित्र गोली हानाहान भएको थियो।

अस्पताल सुत्रहरूका अनुसार मारिनेहरूमा कम्तिमा दुईजना विदेशी चिकित्सकहरू थिए।

यमनका सुरक्षाबलहरु क्षेत्रीय विद्रोही तथा अल कायदासित लडीरहेका छन्।

उनीहरूलाई देशमा व्याप्त कानूनहिनता र सेनामा रहेको गुटबन्दीसित पनि जुध्नु परीरहेको छ।

वाशिङ्टनको भ्रमण

रक्षामन्त्री मोहम्मद नासेर हाल वाशिङ्टनको भ्रमणमा रहेका छन्।

सो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन।

संवाददाताहरू उक्त हमला अरबी प्रायद्वीपको अल कायदालको शैलीमा गरिएको बताउँछन्।

यद्यपी एक सरकारी मन्त्रीले सो आक्रमण पूर्व राष्ट्रपति अली अबदुल्लाह सालेहसित सम्बन्धित मानिसहरुले गराएका आरोप लगाएका छन्।

अधिकारीहरूले स्थिति नियन्त्रणमा लिइसकिएको र प्राय सबै आक्रमणकारीहरू मारिएका बताएका छन्।

उग्रवादीहरू मोटरसाइकलमा आइ अधिकारीहरूमाथि गोली प्रहार गर्ने क्रम बढेपछि, गत केही हप्तादेखि सुरक्षास्थिति मजबुत बनाइएको थियो।

सालेहलाई सन् २०११ मा राष्ट्रपति पदबाट बर्खास्त गरिएपछि यमन कष्टपूर्ण संक्रमणबाट गुज्रिरहेको छ।

सो देशमा राष्ट्रपतीय चुनाव आगामी वर्षको फेब्रुअरी महिनामा हुने कार्यक्रम छ।