'मण्डेलाबाट क्षमाशीलता र सहमतिको पाठ सिकौं'

  • 6 डिसेम्बर 2013
jayaraj
Image caption १९९१ देखि १९९४ सम्म राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रहंदा आचार्य रंगभेदविरुद्धको राष्ट्रसंघीय समितिका उपाध्यक्ष थिए

नेल्सन मण्डेलालाई पटकपटक भेट्ने मौका पाउने विरलै नेपालीमध्ये पर्छन्, पूर्व राजदूत जयराज आचार्य।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि हुंदा उनले मण्डेलासंग रंगभेदविरोधी राष्ट्रसंघीय समितिको उपाध्यक्षको हैसियतमा विभिन्न मौकामा भेटेका थिए।

मण्डेलासंगको भेट र उनको व्यक्तित्वको सम्झना, आचार्यले यसरी गरेका छन्।

'अर्को गान्धी'

मण्डेला एउटा ठूलो ऐतिहासिक पुरुष हुनुहुन्थ्यो।

त्यसो हुंदाहुंदै पनि उहांमा सामान्य व्यक्तिको जस्तो व्यवहार थियो।

उहांसंग भेट्दा मलाई महात्मा गान्धीलाई भेटेको जस्तो भयो।

मैले त्यो कुरा उहांलाई पनि भने।

उहांले मलाई 'थ्यांकु यु फर कम्पेरिंग मी विद् गान्धी बट आइ डन्ट कन्सिडर मी एज महात्मा' (मलाई गान्धीसंग दांज्नु भएकोमा धन्यवाद तर मैले आफूलाई महात्मा ठान्दिन।) भन्नुभयो।

त्यो वाक्य मलाई अहिले पनि सम्झना छ।

१९९० को दशकको सुरुवातमा उहांले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न जांदा मैले स्वागत गरेर मञ्चसम्म लगेको थियो।

सम्बोधन गर्दै जांदा उहांको आंखाबाट आंसु आयो।

उहांले भन्नुभयो, “तपाईहरुले आज मलाई सम्मान गरेर मैले गरेको संघर्षलाई मात्रै होइन सम्पूर्ण दक्षिण अफ्रिकाको सम्मान गर्नुभएको छ”।

उहांको भाषण सकिएपछि सबैले उठेर ताली बजाए ।

महासभापछि उहां दक्षिण अफ्रिका फर्कनुभयो।

सन् १९९४ को कुरा हो,त्यहां चुनाव भयो र उहांको पार्टीले दुई तिहाइ मत ल्यायो।

उहां राष्ट्रपति हुनुभयो।

उहांलाई भेट्न हामी प्रिटोरिया पुग्यौं।

मसहित नाइजेरिया, पेरु र जिम्बावेका राजदूतहरुले भेटेका थियौं।

उहांले आफैलाई २७ वर्ष जेलमा राख्ने शासनकालका अन्तिम राष्ट्रपतिलाई एफ डब्लु क्लर्कलाई उपराष्ट्रपति बनाउनुभयो।

त्यसबेला हामीले क्लर्कलाई पनि भेट्यौं।

मण्डेलाले कसैप्रति राग, द्धेष राखेको जस्तो लागेन।

अपूरणीय क्षति

जतिसुकै ठूलो व्यक्ति भएपनि सधै कोही पनि बांच्दैन।

तर उहांको निधनले दक्षिण अफ्रिकालाई मात्रै होइन विश्वलाई नै क्षति पुगेको छ।

तर खास कुरा चाहि हामीले उहांबाट कस्तो प्रेरणा लिने भन्ने विषय महत्वपूर्ण हो।

नेपालका लागि पाठ

पहिलो, नेपालका नेताहरुले सत्तालोलुपता देखाउनु हुंदैन भनेर उहांबाट सिक्नुपर्यो।

उहां जीवनको अन्तिम क्षणसम्म पनि राष्ट्रपति बन्न सक्नुहुन्थ्यो।

तर उहां एउटा कार्यकाल मात्रै राष्ट्रपति हुनुभयो।

उपराष्ट्रपतिलाई राष्ट्रपति बनाइदिनुभयो।

दोस्रो, संविधान बनाउने चरणमा नेपाल छ।

सबैलाई समावेश गरेर, सहमति गरेर संविधान बनाउने कुरा मण्डेलाबाट सिक्न सकिन्छ।

उहांको दलले दुई तिहाइ मत ल्याएको थियो।

चाहेको भए अरुलाई सामेल गराउन जरुरी थिएन।

तर उहांले हिंसामा संलग्न इनकाथा फ्रिडमका अध्यक्ष बुथलेजीलाई गृहमन्त्री बनाइदिनुभयो।

इब्राहिम गोराको कम्युनिष्ट पार्टीले एक सिट पनि जितेन तर त्यो पार्टीलाई चार सिट दिनुभयो र दक्षिण अफ्रिकामा समावेशी संविधान बनाइदिनुभयो।

(बीबीसी नेपाली सेवासंग आचार्यले गरेको कुराकानीमा आधारित)