दक्षिण अफ्रिका र बिश्वभरी मन्डेलाको निधनमा शोक

  • 6 डिसेम्बर 2013
Image caption संसार भरीबाटै नेल्सन मण्डेलाको निधनमा शोक व्यक्त भैरहेकोको छ

दक्षिण अफ्रिकाको जोहानेसबर्ग र सोवेटोमा भेला भएर द‌क्षिण अफ्रिकीहरुले देशका भूतपूर्व नेता नेल्सन मण्डेलाको निधनमा शोक मनाइरहेका छन्।

उनको बिहीबार ९५ बर्षका उमेरमा निधन भएको थियो।

नेल्सन मण्डेला लामो समयदेखि फोक्सो सम्बन्धि रोगबाट ग्रस्त थिए।

गत सेप्टेम्बर महिनामा अस्पतालबाट डिस्चार्ज भएपछि उनले घरमै स्वास्थ्य उपचार गराइरहेका थिए।

उनको निधनको समाचार सार्वजनिक हुने वित्तिकै सोवेटोस्थित उनको निवास बाहिर मानिसहरुको भीड जम्मा हुन थालेको थियो, जहां उनी सन् १९४० र ५० को दशकमा बसेका थिए।

तिनीहरुले रंगभेद युगका गीतहरु गाएर मण्डेलाको योगदानको स्मरण गरेका थिए।

उज्यालो हुने वित्तिकै मानिसहरुको ठूलै भीड जम्मा भैसकेको थियो।

जोहानेसबर्गको उत्तरी उपनगरिय क्षेत्रमा रहेको मण्डेलाको हालको निवास बाहिर पनि मानिसहरुको भीड लागेको थियो।

श्रद्धाञ्जली

संसार भरी नै मण्डेलाको निधनमा शोक व्यक्त भएको छ भने विश्वनेताहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राष्ट्रपति जेकब जुमाले राष्ट्रिय टेलिभिजनमा मण्डेलाको मृत्युको घोषणा गरेपछि राष्ट्रिय झण्डा आधा झुकाइएको छ।-

मण्डेलाका पुराना समर्थक, भूतपूर्व आर्चविशप डेसमण्ड टुटुले भनेका छन्, “ईश्वरले नेल्शन मण्डेलालाई हाम्रो इतिहासको महत्वपूर्ण कालखण्डमा देशको राष्ट्रपति बन्न पठाएर, हामी दक्षिण अफ्रिकीहरु प्रति कृपा गरेका हुन्।“

शुक्रबार केप टाउनमा आयोजीत एउटा धार्मिक कार्यक्रममा बोल्दै उनले, मण्डेलाले एउटा विभाजीत राष्ट्रलाई एकजुट हुन सिकाएको बताएका छन्।

शोक कार्यक्रम

अब सोमबार, जोहानेसबर्ग शहरको बाहिरी भेगमा पर्ने ९५ हजार क्षमताको रंगशालामा राष्ट्रिय शोकको कार्यक्रम गरिने भएको छ।

Image caption सोवेटोमा नेल्सन मण्डेलाको पुरानो घर अगाडि मानिसहरुले नाचगान गरेर श्रद्धाञ्जली व्यक्त गरे

त्यसपछि उनको पार्थ‌िव शरीरलाई तीनदिनसम्म प्रीटोरियामा ससम्मान अन्तिम दर्शनका लागि राखिने छ।

राजकीय सम्मानका साथ उनी हुर्केको पूर्वी केप स्थित कुनु गाउंमा डिसेम्बर १५ तारिख आइतवार उनको अन्तेष्ठी सम्पन्न हुनेछ।

सन् १९९४ मा दक्षिण अफ्रिकाको प्रथम अश्वेत राष्ट्रपति बन्नु अघि नेल्सन मण्डेलाले २७ बर्ष जेल जीवन विताएका थिए।

उनको प्रशासनले जातिवादी श्वेत अल्पसंख्यक शासनलाई प्रतिस्थापन गरेको थियो, जुन सत्ताले एपरथाइड भनिने जातिवादी नीति अन्तर्गत दक्षिण अफ्रिकामा श्वेत र अश्वेत बीच विभाजन लागु गरेको थियो।

त्यसपछि मण्डेला विश्वकै सबैभन्दा प्रतिष्ठित मध्येका एक राजनेता बन्न पुगेका थिए।

सम्बन्धित समाचार