हिंसाग्रस्त मध्य अफ्रिकी गणतन्त्रमा फ्रान्सका सेना

  • 8 डिसेम्बर 2013
रेडक्रस कर्मचारीहरु
Image caption मध्य अफ्रिकी गणतन्त्रमा साम्प्रदायिक हिंसामा धेरैको ज्यान गइसकेको बताइएको छ

मध्य अफ्रिकी गणतन्त्रमा आफ्नो देशको सेनाको संख्या १६ सय पुर्‍याइएको फ्रान्सका राष्ट्रपतिले शनिवार बताएका छन्।

राजधानी बांगुईको सडकमा फ्रान्सका सैनिकहरुले गस्ती गरिरहेका छन्, जहां जारी सम्प्रदायिक हिंसाका कारण गत दुई दिनमा ३९४ वटा शव फेला पारिएको छ।

अब फ्रान्सेली सेना उत्तरी नगर बोसांगोआ पुगेको छ, जहां रहेका अफ्रिकी शान्ति स्थापना सैन्यहरुले ईशाई र मुसलमान उग्रवादी समूहबीचको भिडन्ताको कडा सामना गर्नुपरिरहेको थियो।

स्वागत बोसांगोआबाट बीबीसीका टमस फेसी भन्छन्, बोसांगोआस्थित सैनिक आधारशिविरमा शरण लिइरहेकाहरुले, त्यहां पुगेका असी जनाजति फ्रान्सेली सैनिकहरुलाई खुशी साथ स्वागत गरेका थिए।

तीन दिन देखिको भीडन्तका कारण उक्त तनावग्रस्त नगर स्पष्ट रुपमा विभाजित देखिन्छ।

३५ हजार जना जति विस्थापित ईशाईहरु एकातर्फ छन् भने अर्को भागमा सात हजार जति मुसलमानहरु बसिरहेका छन्।

विहीबार एउटा ठूलो आम संहार हुन बाट जोगाएका अफ्रीकी शान्ति स्थापक सैन्यहरुको कडा गस्तीका माझ पनि परस्पर युद्धरत समुदायका मिलिसियाहरुले बदलाका आक्रमणहरु गरिरहेका छन्।

जिम्मा

अब यो साम्प्रदायिक द्वन्द्वलाई रोक्ने कामको जिम्मा फ्रान्सेलीहरुले लिने छन्।

राजधानी बांगुईस्थित विमानस्थलको ह्यांगरमा अस्थायी शिविर बनाएर बसिरहेका शरणार्थी मध्येका एक सेरेन भांगा एरेनडांगाले भने, “हामीलाई शान्ति बाहेक अरु थोक चाहिंदैन। हाम्रो देशमा शान्ति हुनुपर्छ। “शान्ति भयो भने हामी यहांबाट निस्केर घर जान सक्छौ, नभए हामी भोकै मर्नुपर्छ।“

उता प्यारिसबाट अर्का सम्वाददाता क्रिस्टिएन फ्रेजर आफ्नो रिपोर्टमा भन्छन्, मध्य अफ्रिकी गणतन्त्र साम्प्रदायिक हिंसाको बाटोमा अघि बढ्दै गर्दा, त्यहांका प्रधानमन्त्रीले भद्रगोल अवस्थामा देशका राष्ट्रपति संग विहीबार देखि नै आफ्नो कुराकानी हुन नसकेको बताएका छन्।

उनका अनुसार, देशको प्रशासन अब राजधानी बांगुईमा सीमित भएर रहेको छ, जोसंग स्रोत साधन र सेना दुवै छैन।

Image caption मध्य अफ्रिकी गणतन्त्रमा ईशाई र मुसलमान मिलिसियाबीच भीडन्त भइरहेको छ

आश्रय बोसांगोआ नगरमा ४० हजार मानिसहरु जम्मा चार हेक्टेयर क्षेत्रमा आश्रय लिएर बसिरहेका छन्।

फ्रान्सका रक्षा मन्त्रीले, आफ्ना सैन्यहरु तीव्र गतिमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन गरिने बताएका छन्।

उनले त्यहांको हिंसा रोक्न कार्यरत कंगोका शान्तिस्थापकहरुलाई सघाउन क्यामरुनमा रहेका आफ्ना सेना त्यता पठाउने बताएका छन्।

राष्ट्रपति फ्रांस्वा ओलाण्डले, प्यारिसमा आयोजीत अफ्रिकी राष्ट्रहरुको दुई दिने शिखर बैठकको अन्त्यमा बोल्दै आफ्ना सैन्यहरु त्यहां आवश्यक परेको समयसम्म तैनाथ रहने जनाएका छन्।

तर ब्रिटेन भन्दा तीन गुणा धेरै क्षेत्रफल भएको उक्त अफ्रिकी मुलुकमा शान्ति स्थापनाका लागि १६ सय जना सैनिकको योगदान अपुग हुन सक्छ।