संविधानसभामा भाग लिन एमाओवादीका दुई सर्त

  • 8 डिसेम्बर 2013
Image caption एकिकृत माओवादीले चुनावको निष्पक्षतामा प्रश्न उठाउँदै उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने माग गरेको छ

एकीकृत माओवादीले विगतमा भएका सहमतिको कार्यान्वयन हुने सुनिश्चितता र उसले दावी गरेको चुनावी धाँधलीको छानबिन भए संविधानसभामा सहभागी हुने बताएको छ।

नेपाली काँग्रेस र नेकपा एमालेसँग आइतवार भएका छुट्टाछुट्टै वार्तामा माओवादी नेताहरुले उनीहरुले भन्ने गरेको चुनावमा भएको धाँधलीको छानबिनको लागि आयोग गठन हुनुपर्ने माग पनि गरेका छन्।

चुनावी परिणाम आएपछि पहिलो पटक भएको ‌औपचारीक वार्तामा कुनै ठोस निष्कर्ष ननिस्केको नेताहरुले बताएका छन्।

माग

माओवादी अध्यक्ष प्रचण्डको निवासमा छलफलका लागि पुगेका काँग्रेस र एमालेका नेताहरु सामू एकिकृत माओवादीले दुई वटा माग राखेको थियो।

विगतमा भएका १२ बुदेँ लगायतका विभिन्न समझदारीको कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने र चुनावमा उसले दावी गर्दै आएको धाँधलीको छानविन गर्न उच्चस्तरीय छानबिन टोली बन्नुपर्ने उसको माग छ।

ती मुद्दा सम्बोधन गरिए संविधानसभामा जाने एकिकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए।

“हामीले कहिल्यै पनि संविधानसभामा जान्न भनेका छैनौं र हामी सुरु देखि नै शान्ती प्रकिया र संविधान निर्माण प्रति प्रतिबद्ध छौ। हाम्रा मुद्दामा सहमति गरिनुपर्छ भन्ने हाम्रो भनाई हो।”

चुनावका कारण समिकरण फेरीएपछि विगतमा भएका सहमति र प्रतिबद्धता उल्टिने हुन् कि भन्ने आशंका एकिकृत माओवादीको छ।

आश्वासन

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विस्तृत शान्ति सम्झौता र १२ बुदेँ समझारी लगायतका सहमति प्रति आफ्नो दल प्रतिबद्ध रहेको बताए।

उनले भने, “अन्तरिम संविधानको परिधिमा रहेर संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन हामी प्रतिबद्ध छौ‌। जनमतलाई सम्मान गरेर सबै पक्षले संविधानसभामा सहभागी भएर त्यहाँ नै आफ्ना कुरा राख्नुपर्छ।”

काँग्रेस र एमालेले एक वर्ष भित्र संविधान लेखन पुरा गर्न सकिने बताउँदै आएका छन्।

चुनावमा षडयन्त्र भएको बताउने गरेको एकिकृत माओवादीले त्यसको छानविनको लागि उच्चस्तरीय आयोगको गठन गरीनुपर्ने माग राखेको छ।

चुनावलाई स्वच्छ, निष्पक्ष भनेका काँग्रेस र एमालेले आयोग गठन गर्न नसकिने तर त्यसबारे संविधानसभा भित्रै छलफल गरेर सहमति जुटाउन सकिने धारणा राखेका छन्।