एकीकृत माओवादीले वार्तामा छानबिन आयोगको माग प्रस्तुत गर्ने

  • 8 डिसेम्बर 2013
मतदाताहरु
Image caption चुनावमा संरचनागत, नीतिगत तथा प्रक्रियागत धाँधली भएको एकीकृत माओवादीको आरोप छ

नेपाली कांग्रेस तथा नेकपा एमालेसंगको वार्तामा, चुनावमा धाँधली भएको भन्ने आफ्नो आरोपबारे उच्चस्तरिय समिति बनाउनु पर्ने माग, जोडदार रुपमा राखिने एकीकृत माओवादीका नेताहरुले बताएका छन्।

चुनावमा पहिलो र दोस्रो स्थान पाएका कांग्रेस र एमालेले, चुनाव आमरुपमा निष्पक्ष ढंगले सम्पन्न भएको निचोड निकाल्दै, घटनाविशेष भए तिनको छानबिन गर्न सकिने बताउँदै आएका छन्।

तर उनीहरुले निर्वाचनको सोलोडोलो छानबिन गर्नाका निम्ति उच्चस्तरिय समिति बनाउने विषय अस्वीकार्य हुने बताउँदै आएका छन्।

माग

चुनावी परिणामपछि पहिलोपटक औपचारिक वार्ता गरेका दुई पार्टिले, तेस्रो स्थानमा रहेको एकीकृत माओवादीसंग आइतबारदेखि छलफल थाल्ने बताएका छन्।

त्यस्तो छलफलमा एकीकृत माओवादीले प्रस्तुत गर्ने एजेण्डाबारे सो दलका नेता देवेन्द्र पौडेलले भने, "चुनावमा भएका धाँधलीको छानबिन गर्न उच्चस्तरिय आयोग गठन गरियोस्, अनि अन्तरिम संविधान संशोधन गरि सहमतिमा संविधान बनाउने प्रत्याभूति दिलाइयोस्, भन्ने विषय हामी उठाउँछौं।"

पौडेलले भनेजस्तो निर्वाचनको सम्पूर्ण प्रक्रियामाथि छानबिन गर्न उच्चस्तरिय आयोग बनाउन कांग्रेस र एमाले तयार छैनन्।

ती दुई दलले कतै स्थानविशेषमा भएका घटनाहरुको प्रमाण पुर्‍याएर छानबिन गर्न सकिने उल्लेख गरेका छन्।

के उनीहरुले भनेको जस्तो छानबिनप्रति एकीकृत माओवादी सन्तुष्ट होला?

"धाँधली भएको त प्रष्ट छ। अन्य दलले पनि भनेका छन्। त्यसको सम्बोधन वहाँहरुले गर्न सक्नुपर्छ। त्यसैले बरु कांग्रेस र एमालेले त्यसबारे सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायसंग के भएको भन्ने बुझेर अघि बढ्दा राम्रो हुन्छ," पौडेलले बताए।

असी सिट सहित संविधानसभामा तेस्रो स्थानमा रहेको एकीकृत माओवादीलाई मनाउन सक्ने छाँट नदेखिएका बेला, नयाँ संविधानसभापनि विवादग्रस्त हुने धेरै विश्लेषकहरुले बताएका छन्।