थाइलैण्डमा निर्वाचनको घोषणा : विरोध जारी

  • 9 डिसेम्बर 2013
Image caption प्रधानमन्त्रीका दाजु तथा अपदस्थ नेता थाक्सीनले सरकारको नियन्त्रण गरी राखेको बिपक्षीहरुको आरोप छ

थाइलैण्डमा प्रधानमन्त्री यिङलक चिनावातले संसद बिघटन गरी निर्वाचनको लागि आह्वान गरेकी छिन्।

राजधानी बैंककमा निरन्तर विरोध प्रदर्शनहरु भए पछि उनले सो घोषणा गरेकी हुन्।

आइतबार सबै बिपक्षी सांसदहरुले संसदबाट राजीनामा दिएका थिए।

सोमबार प्रदर्शनकारीहरु सरकारी भवनतर्फ अघि बढ्दै गर्दा सुश्री यिङलकले निर्वाचनको घोषणा गरेकी हुन्।

उनले भनिन्, सरकार कसैको जीउज्यानको क्षति चाहँदैन।

उनको भनाई थियो,अब थाइ जनताले नैं निर्णय गर्नेछन्।

थाई सरकारी अधिकारीहरुको भनाईमा निर्वाचन फेब्रुअरी दुई तारिखमा सम्पन्न हुने संभावना छ।

विरोध जारी

सरकार विरोधी प्रदर्शनकारीहरुले चाहीं उनको स्थानमा एउटा गैह्र निर्वाचित जनपरिषद गठन हुनु पर्ने माग गर्दै –यालीहरु जारी रहने कुरा बताएका छन्।

उनीहरुको भनाईमा संपूर्ण प्रजातान्त्रीक प्रक्रियामा परिवर्तन हुनु आवश्यक छ र सुश्री यिङलक र उनको परिवारले देश छाड्नु पर्छ।

एक जना भूतपूर्व वरिष्ठ राजनितीज्ञ तथा अहिलेका बिरोधीहरुका नेता सुथेप थाउगसुवानले आन्दोलन जारी रहने कुरा बताएका छन्।

उनको भनाईमा यो सरकारलाई प्रधानमन्त्रीका दाजु तथा अपदस्थ नेता थाक्सीन चिनावातले नियन्त्रण गरी राखेका छन् र थाक्सीनको शासन अझ यथास्थानमैं छ।

करिब डेढ लाख प्रदर्शनकारीहरु बैंककका सडकहरुमा उत्रिएका छन्।

सुश्री यिङलकल सन् २०११ को निर्वाचनमा विजयी भएकी थिइन्।

सो निर्वाचनमा उनको फिउ थाइ पार्टीले २६५ स्थान ल्याएर बहुमत हासिल गरेको थियो।

दोस्रो स्थानमा डेमोक्राटीक पार्टीले १५९ स्थान प्राप्त गरेको थियो।