नामावली बुझाउने म्याद लम्बिन सक्छ: निर्वाचन आयुक्त

  • 10 डिसेम्बर 2013
निर्वाचन आयोग
Image caption नमावली बुझाउन निर्वाचन आयोगले दिएको सात दिने म्याद मंगलबार समाप्त हुंदैछ।

निर्वाचन आयोगका एकजना आयुक्तले समानुपातिक प्रणाली अन्तर्गत सभासदको नाम सिफारिस गर्न दलहरुलाई दिएको म्याद बढाउन सकिने बताएका छन्।

आयोगले दिएको सात दिने म्याद मंगलबार सकिन लाग्दा ३० वटा मध्ये नौवटा दलले मात्र सभासदको सूचि बुझाएका छन्। तोकिएको समयसीभित्र सकिनु अघिल्लो दिनसम्म आफ्ना सभासदको सूचि बुझाउनेहरुमा साना दलहरु मात्र छन्।

आग्रह

समानुपातिक सभासदको टुंगो लगाउन बाँकी दलहरु मध्येको एउटा, निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेसले सोमवार आयोगलाई म्याद बढाउन औपचारिक आग्रह गरेको थियो। त्यसबारे निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ्ले भने, "आयोगले चाहेको खण्डमा निर्णय गर्यो भने थप्न सक्छ भन्ने मेरो आफ्नो मान्यता छ। हामी छलफलको क्रममै छौं।

"कानून सम्बन्धि के कस्तो छ के हुन्छ भनेर हाम्रा कानूनी सल्लाहकारहरुलाई हामीले लगाएका छौं।"

निर्वाचन आयोगको कार्यविधिमा सात दिनभित्र दलहरुलले समानुपातिकतर्फका सभासदको नाम बुझाउनु पर्ने प्रावधान छ।

उक्त व्यवस्था आयोगको आन्तरिक बैठकले नै संसोधन गर्न सक्छ।

म्याद थप

कांग्रेसको आग्रहका कारण मात्र नभई धेरै दलहरुले सूचि सिफारिस नगरेकाले आयोगलाई म्याद थप्नु पर्ने स्थिति देखिएको कतिपयको ठम्याइ पाइन्छ।

चुनावी नतिजाप्रति असन्तुष्ट एकीकृत नेकपा माओवादी लगायतका केही दलहरु त छानवीन आयोग नबनेसम्म नाम सिफारिस नगर्ने अडानमा छन्।

कांग्रेसले उनीहरुसँग राजनीतिक वार्ताका निम्ति प्रयास भइरहेकाले थप समय चाहिएको तर्क गरेको छ।

तर ठूला दलहरुभित्र समानुपातिकको नाम चयनमा विवाद देखिएको समाचारहरुमा जनाइएको छ।

जुन कुरा ती दलहरुले भने अस्वीकार गर्ने गरेका छन्।