उत्तर कोरियाली नेताका आफन्तलाई ‘मृत्युदण्ड’

  • 13 डिसेम्बर 2013
जाङ र नेता किम
Image caption विश्लेषकहरु भन्छन् जाङविरुद्धको कारवाहीले उत्तर कोरियाको सत्तामा रहेको समस्या उजागर गरिदिएको छ

उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार जाङ विरुद्ध शक्तीको दुरुपयोग, क्रान्ति विरुद्धका क्रियाकलाप र भ्रष्ट आचरण गरेको दोष लगाइएको थियो।

उनीविरुद्ध एक विशेष सैन्य अदालतमा मुद्दा चलाइएको थियो, त्यस्ले उनलाई देशद्रोही ठहर गरेपछि उनलाई त्यहीं मृत्युदण्ड दिइएको बताइएको छ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाए अनुसार सैन्य अदालतमा जाङले आफूले सरकार ढाल्न खोजेको स्वीकार गरेका थिए।

त्यस लगत्तै उनलाई मृत्युदण्ड दिइयो।

‘दुरुपयोग’

सो समाचार संस्थाले किमलाई उनका पिताको मृत्यु भएपछिको संक्रमणमा सघाएका जाङलाई उस्कै शब्दमा “कुकुर भन्दा पनि नराम्रो” भनेको छ।

सैन्य अदालतसामु उनले आफ्नो जिम्मेदार पदको दुरुपयोग गर्दै आफ्नो राजनैतिक महत्वाकांक्षा पुरा गर्नको लागि देशविरुद्ध गुटबन्दी गरेको स्वीकारेको भनिएको छ।

सोलस्थित बीबीसीकी लुसी विलियमसन भन्छिन्, “जाङको पतन समग्रमा अचम्मलाग्दो छ, त्यस्को प्रचारबाजी पनि अनौठो छ।”

पार्टीका समितिहरुमा र सैन्य आयोगका रहेका जाङले चीनसंगको सम्वन्ध सम्हाल्ने जिम्मेवारी पनि पाएका थिए।

जाङले नेता किमकी फुपुसंग विवाह गरेका थिए।

नाटकिय

उनी पार्टीको एक वरिष्ठ नेता थिए र देशको सैन्य आयोगमा पनि उच्च पदमा थिए।

जाङलाई यसै साता मात्रै कम्युनिष्ट पार्टीबाट नाटकिय रुपमा बर्खास्त गरिएको थियो।

पछिल्लो घटनाक्रमलाई किम उत्तर कोरियाका नेता भएपछिको सबै भन्दा ठूलो उथलपुथल मानिएको छ।

विश्लेषकहरु भन्छन् जाङविरुद्धको कारवाहीले उत्तर कोरियाको सत्तामा रहेको समस्या उजागर गरिदिएको छ।