अमेरिका, ब्रिटेनद्वारा सिरियाली विपक्षीलाई सहयोग रोक्का

  • 12 डिसेम्बर 2013
सिरियाली लडाकू
Image caption अमेरीका र युरोपेली देशहरु सिरियाका विद्रोहीहरुलाई हातहतियार र गोलिगठ्ठा दिन पनि हिचकिचाइरहेका छन्

औषधी, सञ्चार उपकरण, सैन्य खाना, सवारी साधन र जेनेरेटर जस्ता गैरघातक सहयताहरु सिरियाका अतिवादीको इस्लामवादी समुहको हातमा जाने चिन्ताका माझ अमेरिका र ब्रिटेनले पछिल्लो कदम चालेका हुन्।

एक साता अघि मात्र अतिवादी इस्लामवादी विद्रोहीहरुले सिरियाली विपक्षीको हतियार भन्डारहरु नियन्त्रणमा लिएका खबर सार्वजनिक भएका थिए।

फ्रि सिरियन आर्मीले ब्रिटेन र अमेरिकाले हतारमा प्रतिक्रिया जनाएको भनेको छ।

सिरियाको विपक्षी फ्रि सिरियन आर्मीलाई उत्तरी सिरियामा दिंदै आएको गैरघातक सहयता रोकिएपनि मानविय सहयता भने नरोकिने अधिकारीहरुको भनाइ छ।

‘चिन्तित’

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन साकीले पछिल्लो घटनाक्रमबाट अमेरिका चिन्तित भएको बताइन्।

“पक्कै पनि हामी चिन्तित भएका छौं किनभने इस्लामिक फ्रन्टका विद्रोहीहरुले सिरियाको एसएमसीको मुख्यालय र गोदामहरुलाई नियन्त्रणमा लिएका छन्।”

“त्यसैले हामीले उत्तरी सिरियामा पठाउँदै आएका गैरघातक सैन्य सामाग्री हाललाई रोकेर र त्याहाँको बस्तुस्थितिको मूल्याङ्कन गरिरहेका छौं।”

विद्रोहीहरुको एक नयाँ गठबन्धनका सदस्यहरुले गत साता फ्रि सिरियन आर्मीका लडाकूहरुलाई टर्कीको सीमा नजिकैबाट भगाइदिएका थिए।

गैरघातक सहयतामा औषधीका अतिरिक्त सवारी साधन र सञ्चार उपकरण पर्दछन्।

अतिवादी समुहको सक्रियता बढ्दै जांदा अमेरीका र युरोपेली देशहरु सिरियाका विद्रोहीहरुलाई हातहतियार र गोलिगठ्ठा दिन पनि हिचकिचाइरहेका छन्।

तर गोप्य रुपमा हातहतियार पठाएका विवरणहरु रोकिएका छैनन्।

दु:ख

जाडो बढ्दै जांदा सिरियाको द्वन्द्वका कारण विस्थापित तथा शरणार्थीहरुले थप दु:ख पाइरहेका छन्।

लेबनन पुगेका १० लाख सिरियाली शरणार्थीहरु मध्ये कयौंलाई आगो बाल्नको लागि दाउरा अपुग भएको छ।

बेका उपत्यका पुगेका एक बीबीसी संवाददाता भन्छन् शरणार्थीहरुको अवस्था दयनिय छ र त्याहाँ सहायता संस्थाहरु पुग्न सकेका छैनन्।